स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा पुन: डा. दिपेन्द्ररमण सिंह

काठमाडौँ, ७ कात्तिक । स्वास्थ्य सेवा विभागको महानिर्देशक पदमा डा दिपेन्द्ररमण सिंह नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा सिंहलाई महानिर्देशक पदमा पठाउने निर्णय गरेका हुन् ।

‘मलाई विभागको महानिर्देशक पदमा जिम्मेवारी दिने दुई दिन अघिको निर्णय रहे्छ । तर पत्र मैले आज पाएको छु । आजैबाट नयाँ जिम्मेवारी सम्हाल्नेछु,’ डा सिंहले भने ।

विभागको महानिर्देशक पद १२ औँ तहको हो । डा सिंह पनि १२ औँ तहका हुन् । तर यसअघि स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले १९ साउनमा मन्त्रीस्तरीय निर्णय गर्दै १२ औँ तहका सिंहलाई मन्त्रालय तानेर ११ औँ तहका डा आरपी बिच्छालाई विभागको महानिर्देशक बनाएका थिए । प्रधानमन्त्री देउवाको यो निर्णयको त्यसबेलै चौतर्फी आलोचना भएको थियो ।

स्वास्थ्य मन्त्री खतिवडाका स्वकीय सचिव तोपबहादुर थापाले विभागको महानिर्देशक पद खालि भएपछि डा सिंहलाई त्यहाँ पठाइएको बताए ।  उनले डा विच्छाको बारेमा केही निर्णय नभएको बताए ।

‘डा. बिच्छाको विषय विज्ञको रुपमा पदावधी थपिएको हो । त्यस्तो व्यक्तिले कार्यकारी पद लिन मिल्दैन् । त्यसैले विभाग आजबाट खालिभयो र डा. सिंहलाई त्यहाँ पठाइएको हो,’ उनले भने ।

६० वर्षे उमेर हदका कारण आजैबाट अवकाश हुने अवस्थामा पुगेका डा बिच्छालाई तीन साता अघि मन्त्रिपरिषदले विषय विज्ञको रुपमा दुई बर्ष पदावधी थप्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *