‘भेरी अस्पतालमा मेसुको रुपमा बितेका मेरो १६ महिना’

डा. प्रकाश थापा
जीवनमा यदि केहि स्थायी छ भने त्यो परिवर्तन नै हो। करीब १६ महिनाको निकै व्यस्त र दौडधुपपूर्ण मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारीबाट सरकारले विश्राम दिने निर्णय गरेको छ ।
जिम्मेवारी दिने र विश्राम दिने सरकारका दुबै निर्णयलाई धन्यवाद दिन चाहन्छु ।
“वरिष्ठता कि कार्यदक्षता” को पेचिलो सवालमा मेरो नेतृत्व स्विकारेर कोभिडको दोस्रो चरण परास्त गर्न खट्नुहुने सबै चिकित्सक सहकर्मीहरूलाई हार्दिक आभार तथा धन्यवाद टक्र्याउन चाहन्छु। अस्पताल नेतृत्वको दोस्रो कार्यकालमा मैले जे जति गरें, त्यो कोभिडकै सेरोफेरोमा रह्यो ।
विभिन्न सूचकाङ्कहरूमा निकै तल रहेको भेरी अस्पतालले यस बीचमा ठूलो फड्को मारेर नेपाल सरकारले तय गरेका Minimum Service Standard मा सङ्घीय अस्पतालहरू मध्ये सबैभन्दा धेरै अङ्क प्राप्त गरी देशकै अब्बल मध्येमा गनियो ।
कोभिडले जनजीवन आतंकित पार्न थालेको परिस्थितिमा उपत्यका बाहिर हामीले नै पहिलो पटक PCR ल्याब स्थापना गर्‍यौं । जहाँबाट हालसम्म ७८००० जनाको परिक्षण भैसकेको छ जसमध्ये १७००० जनामा रोग पहिचान हुन सक्यो ।
अन्तरसंस्था समन्यव गरी स्थानीय स्तरबाटै पनि उल्लेख्य काम गर्न सकिन्छ भन्ने मेरो मान्यता हामीले छोटो समयमै स्थापना गरेको १५ बेडको कोभिड आइसियू सहित १४२ बेडको कोभिड वार्डले पनि पुष्टि गर्‍यो ।
यस कार्यमा सहयोग पुर्याउनु हुने नेपालगञ्ज उपमहानगपालिकाको नेतृत्व, प्रजिअहरू, सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दल, बाँके र बर्दियाका पालिकाहरू, उद्योगी, व्यवसायी, पत्रकार, नागरिक समाज र अस्पतालका सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद । यसै कोभिड वार्डबाट हामीले २८०० बिरामीलाई सेवा दिन सक्यौं।
कोभिड उपचारमा सेवाप्रतिको समर्पणभावले समस्त नर्सिङ पेशाप्रतिको सम्मान उचोँ भएको छ । अस्पतालले गर्व गर्न लायक यस उपलब्धिको श्रेय म मेरा नर्सिङ कर्मचारीहरूलाई दिन चाहन्छु ।
दिन रात नभनी PCR ल्याब, स्वाब संकलन र ल्याबमा काम गर्ने साथीहरू साथै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अस्पतालको सेवा प्रभाव तथा विकासमा साथ दिनुहुने सम्पूर्ण अस्पताल परिवारका सदस्यहरू धन्यवादको पात्र हुनु हुन्छ।
अस्पतालको उन्नयनमा अस्पताल विकास समितिको महत्व कति रहन सक्छ भनेर प्रमाणित गर्ने मेरो कार्यकालका सम्पूर्ण अस्पताल विकास समिति पदाधिकारीहरू प्रति म सदैव कृतज्ञ रहनेछु ।
अप्ठ्यारो परिस्थितिमा साथ, हौसला, सहजीकरण र नवीन सोचको चिन्तनबाट नै यो सम्भव भएको हो । कोभिडको निम्ति द्रुत गतिमा कर्मचारी भर्ना, ICU तथा HDU स्थापना, अक्सिजन ट्याङ्क जडान, अस्पतालको भौतिक संरचना निर्माणको लागि लबिङ तथा बजेट व्यवस्थापनमा वहाँहरूले देखाउनु भएको तदारूकता सदैव स्मरणीय रहनेछ।
१३१ वर्षमा पहिलो पटक अस्पतालको स्थापना दिवस भव्यताका साथ सप्ताह व्यविरुपमा मनाइनु आफैमा एक इतिहासको सृजना हो ।
२५० बेडको इन्डोर भवनको निर्माण सम्पन्न हुने क्रममा छ। यसले अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ।
सरकारका विभिन्न निकायमा समन्यव गरेर र आवश्यकतामा विश्वस्त तुल्याएर इन्डोर भवनको दोस्रो चरण, चिकित्सक आवास, कर्मचारी अवास र पोस्टमार्टम भवन गरेर करीब २५० करोडका क्रमागत योजनाहरू स्विकृत भैसकेका छन् र तिनको कार्यान्वयन सुनिश्चितता भैसकेको छ।
अक्सिजन प्लान्टको खरिद प्रक्रिया सम्पन्न भई एक महिना भित्र जडान हुने प्रक्रियामा छ। जाँदाजाँदै 3 Tesla MRI खरिदको प्रक्रियाको पनि टुङ्गो लागेको छ। बजेट व्यवस्थापनमा सधैं सघाउने प्रादेशिक सामाजिक विकास मन्त्रालय, सङ्घीय स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयप्रति विशेष धन्यवाद।
यसै बीच अस्पताल परिसरमा रहेका औषधि पसलहरु खाली गरी अस्पतालको आफ्नो फार्मेसीको स्तरउन्नती गरिएको छ भने, अस्पतालको अगाडिको भागमा रहेका विवादित र अव्यवस्थित सटरहरु भत्काई दुई वटा गेट सहितको सम्पूर्ण अस्पताल देखिने गरी पर्खाल निर्माणकार्य अगाडि बढाइएको छ।
सबै कुरा यहाँ उल्लेख गर्न साध्य पनि छैन, प्रत्येकलाई सम्झेर सम्बोधन गर्न पनि सम्भव छैन । यद्यपि भेरी अस्पताललाई माया गर्ने र मप्रति सद्भाव राख्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु।
व्यस्थापकीय जिम्मेवारीबाट हटे पनि म यहि अस्पतालको श्रीबृद्धिमै खटिइ रहनेछु । बिरामीहरूसँग थप नजिक रहेर सेवा गर्ने समय पाउनेछु । थाहा छैन मैले के कति गर्न सकें, तर जे जति गरे आफ्नो ब्रम्हले देखें जति र निष्ठाले खामेजति गरें ।  बाँकी मूल्याङ्कन यहाँहरूको !
अन्तमा नवनियुक्त प्रमुख मेडिकल सुपेरीटेन्डेन्ट डा. वीरेन्द्र बहादुर चन्द लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *