सिंहदरबार बैद्यखानाको कार्यकारी निर्देशकमा डा. प्रदीप केसीलाई पठाउने निर्णय

– डा. प्रदीप केसी

काठमाडौँ, १५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरबार बैद्यखाना विकास समितिको कार्यकारी निर्देशक पदमा डा. प्रदीप केसीलाई पठाउने निर्णय गरेको छ ।

आयूर्वेद चिकित्सालय नरदेवीमा कार्यकारी निर्देशक रहेका एघारौँ तहका डा. केसीलाई गत बुधबार स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट बैद्यखाना सरुवा गर्ने निर्णय भएको हो ।

राज्यमन्त्री श्रेष्ठले एक महिना अघि दशौँ तहका आयुर्वेद चिकित्सक डा. शोभाराम सुवेदीलाई कार्यकारी निर्देशक रुपमा बैद्यखाना पठाएका थिए । दशौँ तहको व्यक्तिलाई कार्यकारी निर्देशकको रुपमा पठाउने राज्यमन्त्रीको सो निर्णय त्यसबेला सिंहदरबारबाट हटाइएका डा सबरी साहले सर्बोच्चमा मुद्धा दायर गरेका थिए ।

सर्बोच्चले राज्यमन्त्री श्रेष्ठको निर्णय विरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । आदेश अनुसार गत बुधबार डा साहले मन्त्रालयबाट वैद्यखानाको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नु भन्ने पत्र पाएका थिए ।

सोही दिन नै राज्यमन्त्री श्रेष्ठले डा. केसीलाई कार्यकारी निर्देशकको रुपमा बैद्यखाना पठाउने निर्णय गरेका हुन् ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख शैलजा रेग्मीले गत बुधबारको राज्यमन्त्रीस्तरीय निर्णयबाट डा केसीलाई सिंहदरबार बैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको जिम्मेवारीमा पठाइएको बताइन ।

उनले  सिंहदरबार बैद्यखाना विकास समिति (गठन)आदेश २०७७ को दफा ९ (२) अनुसार डा केसीलाई सो जिम्मेवारीमा पठाइएको बताईन । दफा ९ ( २) मा मन्त्रालयले नेपाल स्वास्थ्य सेवा आयुर्वेद समूहको एघारौँ तहको कर्मचारीलाई बैद्यखानाको कार्यकारी निर्देशकको रुपमा काम गर्ने गरी तोक्नेछ भनिएको छ ।

तर , डा केसीले दरबन्दी नै नभएको ठाँउमा आफूलाई पठाइएको भन्दै आपत्ति जनाए । उनले आफूलाई दरबन्दी नभएको ठाँउमा जान नसक्ने प्रतिक्रिया दिए ।

‘त्यहाँको दरबन्दी तेरिज हेर्नुस्, निजामती कितावखानामा सोध्नुस्, एघारौँ तहको दरबन्दी नै छैन् । दरबन्दी नभएको ठाँउमा म कसरी जाँउ ? दरबन्दी भएको ठाँउ भए सरकारले खटाएको जुन सुकै ठाउँमा जानलाई कुनै आपत्ति छैन् । मैले मन्त्रालयका जिम्मेवार अधिकारीहरुलाई यसबारेमा भनिसकेको छु । उहाँहरुले आफ्नो निर्णयमा पुर्नबिचार गर्नुहोला,’ उनले भने ।

त्यसो त डा. केसीले नरदेवी चिकित्सालयको जिम्मेवारी सम्हालेपछि सो संस्थाको ‘कायापलट’ बताइने गरेको छ ।

‘व्यवस्थापकीय कमजोरीका कारण धर्मराईरहेको एउटा ऐतिहासिक संस्था डा. केसी आईसकेपछि पुर्नजिवित भएको थियो,’ आयुर्वेद क्षेत्रका विज्ञहरु भन्छन, ‘दक्षता देखाईरहेको र राम्रो नतिजा दिईरहेको व्यक्तिलाई हठात रुपमा हटाउँदा त्यसको परिमाण राम्रो नहुन पनि सक्छ ।’

मन्त्रालयले भने नरदेवीमा डा केसीको स्थानमा अहिले कुनै पनि व्यक्तिलाई जिम्मेवारी नदिएको बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *