निर्णय गर्दै बदर गर्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

  • ट्रमा सेन्टरको तत्कालिन निमित्त मेसु डा. पौडेलको सरुवा तीन दिनमै बदर
  • - नेपाली हेल्थ

    काठमाडौँ, २ असोज । राष्ट्रिय ट्रमा सेन्टरका तत्कालिन निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. सन्तोष पौडेललाई कान्ति अस्पतालमा सरुवा गर्ने तीन दिन अघिको आफ्नो निर्णय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफै बदर गरेका छन् । डा. पौडेललाई शुक्रबार अर्को पत्र थमाउँदै राज्यमन्त्री श्रेष्ठले तीन दिन अघि आफैले गरेको निर्णय बदर गरेका हुन् ।

    ट्रमाको निमित्त मेसु रहेका डा. पौडेललाई गत २९ भदौमा राज्यमन्त्रीस्तरको निर्णयबाट हटाई कान्ति बाल अस्पताल सरुवा गरिएको थियो ।  यद्धपी त्यसबेला नै उनलाई काजमा ट्रमा सेन्टर नै तानिएको भनिएको थियो ।

    तर, शुक्रबार डा. पौडेलले निर्णय बदर सम्वन्धी विषय उल्लेख भएको अर्को पत्र हात पारे ।  सो पत्रमा भनिएको छ,  ‘२९ भदौको निर्णय अनुसार कान्ति बाल अस्पतालमा सरुवा गरी ट्रमा सेन्टरमा काम काज गर्न खटाइएकोमा उक्त निर्णय १ असोजको राज्यमन्त्रीस्तरको निर्णय अनुसार बदर भएको व्यहोरा अनुरोध छ ।’

    त्यसो त कोरोना महामारीका बेला ज्यानको पर्वाह नगरी खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि ‘सरुवाको आतंक मच्चाएको’ आरोप लागेका स्वास्थ्य राज्यमन्त्रीको यो पहिलो ‘मिस्टेक’ भने होइन । यसअघि उनले कोभिड- १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख कार्यकारी अधिकारी नियुक्तिमा पनि यस्तै ‘मिस्टेक’ गरेका थिए । डा. रुद्र मरासिनीलाई प्रमुख कार्यकारी भयौ भन्दै नियुक्ती पत्र थमाएका उनले दोस्रो दिन डा. भुपेन्द्रकुमार बस्नेतलाई कार्यभार सम्हाल्न पठाएका थिए ।

    राज्यमन्त्री श्रेष्ठका निर्णय कतिसम्म लापरवाह देखियो भने राष्ट्रिय क्षयरोग केन्द्रमा निर्देशक रहेका डा. अनुज भट्टचनलाई प्रदेशमा सरुवा गरि पठाइदिए । अहिले सो निर्णयबाट पनि उनी ‘ब्याक’ भएको अवस्था छ ।

    युनिफाइड अस्पतालकै प्रमुख कार्यकारी नियुक्त गर्ने दिनमै मन्त्रालयको समन्वय महाशाखा र सार्क क्षयरोग केन्द्रमा प्रमुखको रुपमा क्रमश डा विवेककुमार लाल र रिता भण्डारी जोशीलाई दिने निर्णय गरेका थिए । तर त्यसबाट पनि उनी ‘व्याक’ भए । अहिले डा विवेकलाई परिवार कल्याण महशाखा र जोशीलाई समन्वय महाशाखामा जिम्मेवारी दिइएको छ ।

    दरबन्दी खाली नहुँदै राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका नेपाल चिकित्सक संघका महासचिव समेत रहेका डा बद्री रिजालकाृे सरुवा देखि अवकाश पाउने अवस्थामा रहेका डा तारानाथ पोखरेललाई सार्क क्षयरोग केन्द्रमा हुत्याउने निर्णयसम्म विवादमुक्त रहेन । १२ औँ तहको दरबन्दीमा महानिर्देशक रहेका डा दिपेन्द्ररमण सिंहलाई हटाएर एघारौँ तहका डा आरपी विच्छालाई निमित्त दिने निर्णय अझ आलोचित बनेको थियो ।

    हुन त राज्यमन्त्री श्रेष्ठलाई दशौँ तह माथिको सरुवा गर्ने अधिकार छैन् । एघारौँ तह स्वास्थ्यकर्मीहरुको सरुवा सम्वन्धी निर्णय हस्ताक्षर स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गर्नुपर्ने हुन्छ । तर देउवाले निर्णय गर्नु अघिको सबै प्रपन्च मिलाउन राज्यमन्त्री श्रेष्ठलाई जिम्मेवारी दिएका छन् । राज्यमन्त्री श्रेष्ठले नवुझी र हचुवाको भरमा निर्णय लिँदा यस्ता गल्तीहरु पटक पटक दोहोरिरहेका राज्यमन्त्री निकटकै कर्मचारीहरु बताउँछन् ।

    जिम्मेवारी सम्हाले यता उनका गतिविधिलाई नजिकबाट निहालेका  कतिपयले भने ‘राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री देउवाको रबर स्ट्याम्प हुन’ भनेर  आरोप लगाएका छन् ।   कतिपयले त  प्रधानमन्त्री पत्नी  स्वास्थ्यमन्त्रीको भूमिकामा बालुवाटारमा रहेको र उनको निर्देशनमा राज्यमन्त्री श्रेष्ठले काम गरिरहेको’ बताउने गरेका छन् ।  उनीहरुले बालुवाटार हावी भएकै कारण पछिल्लो समय स्वास्थ्य सचिव, राज्यमन्त्रीको सल्लाहकार सहितको सचिवालयको टिम  नै निरीह देखिन थालेको टिप्पणी गरेका छन् ।

    राज्यमन्त्री श्रेष्ठले बर्तमान सरकारको प्राथमिकतामा खोप रहेको भन्दै आफू आईसकेपछि ठूलो परिमाणमा खोप आईरहेको र लगाईरहेको बताउने गरेका छन् । तर अहिलेसम्मको खोप आउने र लगाउने प्रवन्ध अघिल्लो सरकारकै पालामा भएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् ।

    निजी विद्यालयहरुको छाता संस्था प्याव्सन र उच्च माविहरुको छाता संस्था हिसानमा लामो समय नेतृत्व गरेका र सफल व्यवसायी समेत रहेका राज्यमन्त्री श्रेष्ठ स्वास्थ्यमा पनि सफल होलान भन्ने अनुमान दुई महिने अवधी पुग्दा नपुग्दै धर्मराएको छ ।

    डा. सन्तोषलाई जिम्मेवारीबाट हटाई सरुवा गरिएको पत्र

    हेर्नुहोस डा सन्तोषको सरुवा सम्वन्धी निर्णय बदर गरिएको पत्र


    Facebook Comment


    थप समाचार