‘स्पाइनल कर्ड इन्जुरी’का बिरामीबारे बृहत अनुसन्धान जरुरी

काठमाडौँ, २८ भदौ ।  ‘स्पाइनल कर्ड इन्जुरीबाट नेपालमा कति व्यक्ति पिडीत छन् ? स्पाइनल कर्ड इन्जुरीको उपचारमा कति आउँछन ? उपचारका लागि कछि खर्च लाग्छ ? त्यसपछि रिहाविटेसन र पुर्नस्थापनाका लागि कति खर्च आवश्यक हुन्छ ? यसबारेको तथ्यांक अहिलेसम्म न राज्यसंग छ न त सरोकारवाला निकायसंग । त्यसैले यो विषयको अध्ययन अनुसन्धान गर्न जरुरी छ । त्यसको सुरुवात स्पाइनल ट्रमा रजिष्ट्रीबाट गर्नुपर्ने हुन्छ । त्यसैले यसलाई छिटो अघि बढाउँनु पर्ने छ ।’ सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद र एसोसिएसन अफ स्पाइन सर्जन नेपालको संयुक्त आयोजना भएको स्पाइनल कर्ड इन्जुरी सामाजिक आथिक प्रभाव यसको रोकथामका लागि वकालत र अनुसन्धानको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने विज्ञ डाक्टरहरुले यहि कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष डा विमल कुमार पाण्डेले नेपालमा स्पाइनल कर्ड इन्जुरी भएका कति छन् भन्ने एकीन हुन नसकेको बताए । ‘हामीकहाँ विदेशको मात्रै तथ्यांक छ । यहाँको छैन् । केही अस्पतालले आफूकहाँ आएर उपचार गर्नेको विवरण राखेको होला तर त्यतिले पुग्दैन् । यसकारण पनि स्पाइनल कर्ड इन्जुरी भएका तथा स्पाइन ट्रमाका सम्वन्धमा रजिष्ट्रि आवश्यक छ र अनुसन्धान जरुरी छ,’ उनले भने ।

परिषदका उपाध्यक्ष प्राडा गौरवराज ढकालले एसोसिएसनसंग मिलेर परिषदले स्पाइनल ट्रमा रजिष्ट्रीको कार्यलाई अघि बढाईसकेको बताए । देशमा कति जना स्पाइन सम्वन्धी समस्याले ग्रस्थ छन् ? उनीहरुको सामाजिक आर्थिक पाटो कस्तो छ ? स्पाइनल इन्जुरी त रोकथाम गर्न पनि सकिन्छ । त्यसका लागि कहाँ कसरी वकालत गर्ने ? यसलाई अनुसन्धानको दायरामा कसरी ल्याउने ? भन्ने विषयमा छलफल भएको बताए । उनले आफूहरुले सुरु गर्न लागेको स्पाइनल ट्रमा रजिष्ट्रीबाट ती अनुत्तरीत प्रश्नको जवाफ आउने बताए ।

कार्यक्रममा स्पाइनल इन्जुरी रिहाविटेसन सेन्टर फर नेपालका डाइरेक्टर डा. राजु ढकालले स्पाइनल इन्जुरी भएका बिरामीको उपचार र त्यसपछि रिहाव र त्यसपछिको पुनस्थापनाको पाटोको बारेमा बताउँदै राज्यले सोच्नुपर्ने बेला आएको बताए । ‘विदेशको कुरा गर्ने हो भने ईन्जुरी भएको एउटा व्यक्तिको एक बर्षको खर्च ५ देखि १० करोड रुपैयाँ हुन्छ । यहाँ हामीकहाँ कसरी चलेको छ त्यो भन्न सकिएको छैन् । हामीकहाँ रिहाव गर्न आउँदा प्रतिदिन खर्च २८ सय लाग्दो रहेछ, हामीले १३५० रुपैयाँ मात्रै लिने गर्दछौँ । यहाँबाट निस्केर घर गएपछि झनै समस्या हुन्छ । त्यसैले स्याहार नपाएरै पनि कतिको अकालमै ज्यान जान्छ,’ उनले भने ।

कार्यक्रममा बरिष्ठ सर्जन प्राडा रोहितकुमार पोखरेलले स्पाइनल इन्जुरीको विषयमा राज्यले केही सहुलियत दिन सुरु गरेको भन्दै त्यसको पनि जानकारी नपाएर कतिपयले सो सुविधा लिन नसकेको बताए । ‘हामीले बढो मुस्किलले स्पाइनल इन्जुरी भएकाहरुलाई उपचारमा १ लाख रुपैयाँ उपलव्ध गराउने भन्यौँ । त्यतिले पुग्ने त होइन तर त्यहि कुरा पनि सबै इन्जुरीहरुले थाहा पाएका छैनन्,’ उनले भने ।उनले स्पाइनल कर्ड इन्जुरीका बिरामीका लागि सहुलियत दिनका लागि थप स्कीमहरुको खाँचो रहेको बताए ।

कार्यक्रममा एसोसिएसनका महासचिव डा व्यापक पौडेलले स्पाइनल कर्ड इन्जुरीमा पर्ने व्यक्तिको शारीरिक मात्रै नभई आर्थिक सामाजिक क्षेत्रमा समेत गम्भीर असर परेको बताए । उनले त्यस्ता असर न्युनिकरण गर्न अनुसन्धान जरुरी रहेको र त्यसअघि स्पाइनल इन्जुरी रजिष्ट्रेसनको कार्य अघि बढाउनु आवश्यक रहेको जानकारी दिए । कार्यक्रममा डा ज्ञानेन्द्र साह, प्रचण्डमान श्रेष्ठ लगायतले बोलेका थिए ।

संसदमा कुरा उठाउँछु : सांसद सुनुवार


सोमबारको कार्यक्रममा विज्ञ डाक्टरहरुको बीचमा प्रतिनिधि सभा सदस्य सांसद यज्ञराज सुनुवार पनि सहभागी थिए । उनले डाक्टरहरुको कुरा सुनिसकेपछि आफूले स्पाइनल इन्जुरीको बारेमा थप जानकारी हासिल गरेको बताए । उनले भने, ‘यो यति गम्भीर कुरा रहेछ, मलाई यति साह्रो थाहा पनि थिएन । तर अब संसद र समितिमा यसबारेमा गम्भीर ढंगले कुरा उठाउँछु । यसका कानूनी पाटा, नीति निर्माणका कुरा देखि, राज्यले स्पाइनल इन्जुरीका बिरामीलाई गर्नुपर्ने पर्ने सहयोगका विषयमा पनि के गर्न सकिन्छ, त्यो म गर्छु ।’

परिषदका कार्यकारी सदस्य सचिव डा प्रदीप ज्ञवालीले क्यान्सर रजिष्ट्री पछि स्पाइनल ट्रमा रजिष्ट्रीको काम पनि अघि बढाउन लागेको बताए । उनले सुरुमा केही पाइलटिङको रजिष्ट्रीको कार्यक्रम अघि सार्ने र त्यसपछि देशव्यापी बनाउने जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *