शहीद गंगालाल अस्पतालका प्रयोगशाला प्रमुखको धन्दा – ‘नक्कली पीसीआर रिपोर्ट दिदै पैसा लिदै’

काठमाडौं १० भदौ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बरिष्ठ ल्याव टेक्नोलोजिष्ट एवं प्रयोगशाला इन्चार्ज विनोदकुमार यादवले नक्कली पीसीआर रिपोर्ट बनाउने धन्दामा लागेको खुलासा भएको छ । उनको धन्दाबारे  उजुरी परेपछि केन्द्रले छानवीन उपसमिति गठन गरेको थियो । सो उपसमितिले यादवले संस्थाको लेटरप्याडको चरम दुरुपयोग गर्दै नक्कली कागजात तयार गरी संक्रामक रोग फैलाउने जस्ता कार्य गरेको ठहर गरेको छ ।

उपसमितिको प्रतिवेदन पछि अहिले केन्द्र सञ्चालक समितिले  कर्मचारीको सेवाका सर्त र सुविधा सम्वन्धी नियमावली २०५८ (संसोधनसहित)को नियम १३.६ विपरितको क्रियाकलाप गरेको आधारमा सोही नियमावलीको नियम १३.१ (ख) को (२) को सजाय दिनका लागि अर्को उपसमिति गठन गरेको छ ।

केन्द्रका सञ्चालक समिति सदस्य बिजय राई (विपिन) को संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा स्वास्थ्य मन्त्रालयका कानून उपसचिव मानवहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कन्सलटेन्ट प्याथोलोजिष्ट डा शंकर काफ्ले सदस्य तोकिएको छ । गत २ भदौमा गठन भएको सो उपसमितिलाई २१ दिन भित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

के के गर्दा रहेछन् यादवले ?
छानविन समितिको प्रतिवेदन अनुसार अनुसार यादवले आफू कार्यरत संस्थाको हित विपरित हुने गरी आफूलाई प्राप्त अख्तियारीको चरम दुरुपयोग गरी अनधिकृत व्यक्तिसंग अवान्छित सम्पर्क राखी गैरजिम्मेवार कार्य गरेको उल्लेख छ ।

केन्द्रको लेटर प्याड र सहि छाप किर्ते गरी विश्व व्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीमा मापदण्ड विपरित पीसीआर स्वाव संकगलन गरि, गलत नियत राखी आर्थिक लेनदेन गरी भ्रष्टाचारजन्य कार्य गरेको समेत उल्लेख छ ।

यसैगरी आरटी पीसीआर स्वाव शंकलन गर्दा गराउँदा केन्द्रको खातामा रकम जम्मा नगरी सिधै व्यक्तिगत रुपमा बुझिलिने गरेको, केन्द्रको आधिकारिक रिपोर्टभन्दा छुट्टै झुट्टा विवरणको नक्कली रिपोर्ट बनाई केन्द्र एवं शिक्षण अस्पताल महाराजगञ्जको समेत लेटरप्याडको चरम दुरुपयोग गरेको उल्लेख छ ।

छानवीन समितिका एक सदस्यका अनुसार यादवले विदेशजानेहरुलाई नक्कली पीसीआर रिपोर्ट बनाएर ठूलो रकमको लिने गरेका थिए । ‘अव उनलाई विभागीय कारवाही गरेर सेवाबाट हटाउने कि नहटाउने भन्ने विषयमा छानवीन केन्द्रीत छ,’ छानवीन टोलीका एक सदस्यले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *