विभागले औषधिको मूल्य समायोजनको प्रक्रिया अघि बढायो, विहीबार औपचारिक बैठक बस्दै

काठमाडौँ, ९ भदौ । औषधि व्यवस्था विभागले स्वदेशी औषधिको मूल्य समायोजनको विषय अघि बढाएको छ । विभागले सोही विषयमा छलफल गर्न बिहीबार (भोली) दिउसो १ बजे औषधि मूल्य अनुगमन समितिको बैठक राखेको छ ।

मूल्य अनुगमन समितिका अध्यक्ष समेत रहेका विभागका महानिर्देशक भरत भट्टराईले विहीबार बैठक बस्ने तय गर्दै सदस्यहरुलाई आमन्त्रण गरिसकेका छन् ।

सो समितिमा औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंघ पाण्डे, औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ, नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष शशीकान्त चौधरी र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चका अध्यक्ष रोशन दाहाल सदस्य छन् ।

बैठकका लागि तीनवटा प्रस्ताव तय गरिएको छ । जसमा सरकारले विभिन्न मितिमा विभिन्न प्रकारको औषधिहरुको तोकिएको खुद्रा मूल्यमा समय सापेक्ष परिमार्जन संसोधन सम्वन्धी, मूल्य निर्धारण सम्वन्धि कार्यविधिका सम्वन्धी र मूल्य निर्धारण नभएका औषधिहरुको मूल्य निर्धारण सम्वन्धी विषय छन् ।

विभागका प्रवक्ता सन्तोष केसीले लामो समय देखि औषधिको मूल्य समायोजन नभईरहेको अवस्थामा दृष्टिगत गर्दै बैठक अघि बढाईएको बताए । उनले यसअघि तोकिएका खुद्रा मूल्यको समायोजन, मूल्य निर्धारण भई नसकेका औषधिको मूल्य तोक्ने र त्यसका लागि कार्यविधि बनाउने विषयलाई अघि बढाइएको बताए । उनले बर्षौ देखि औषधिको कच्चा पदार्थ र छिमेकी मुलुकहरुमा समेत कतिपय औषधिको मूल्य बढेको अवस्थामा बैज्ञानिक ढंगले मूल्यको समायोजन गर्नका लागि धेरैपटक आवाज उठिरहेको सन्दर्भलाई यसपटक अघि बढाईएको स्पष्ट पारे ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले विभागको चिठी आफूलाई प्राप्त भइनसकेकोले बैठकका बारेमा थाहा नभएको प्रतिक्रिया दिए ।

‘अत्यावश्यक औषधिमा कम्तिमा ८० प्रतिशत त आत्मनिर्भर हुनै पर्दछ । राज्यले स्वदेशी औषधिलाई आत्मनिर्भरको बाटोमा अघि बढाउन आवश्यक सहयोग पनि गर्नु पर्दछ भन्दै आएका हौँ । मूल्यका सम्वन्धमा पनि बाहिरबाट आउने कच्चा पदार्थको उपलव्धता, त्यसको मूल्य र अवस्था हेरेर आवश्यक समायोजन गर्नु पर्छ भनेका हौँ । त्यसका राज्यका तर्फबाट केही तयारी भएको छ भने त्यसलाई अन्यथा लिनु हुँदैन,’ उनले  भने । उनले चिठी पाइसकेपछि थप बोल्न सक्ने बताए ।

नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले औषधि मूल्य समायोजन गर्ने विषय जायज मान्य सकिए पनि यति खेर उपयुक्त समय नभएको प्रतिक्रिया दिए ।

‘लामो समय देखि औषधिको मूल्य समायोजन भएको छैन् म मान्छु तर कोभिड महामारीबाट बेलामा औषधिको मूल्य बढाउनु उपयुक्त समय हो त ?,’ उनले प्रतिप्रश्न गर्दै भने । आचार्यले यतिवेला सिटामोल लगायतका औषधिको बजारमा अभाव भएको भन्दै अभाव हटाउन आयातकर्ताले सुलभ मूल्यमा गुणस्तरीय औषधि आयात गर्न विभागले साथ नदिएको आरोप लगाए ।

यसअघि मंगलबार विभागमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले अनुगमन गरेका थिए । सो क्रममा विभागका पदाधिकारी, स्वदेशी औषधि उत्पादकहरुबीच औषधिको मूल्य समायोजनको विषयमा छलफल भएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *