सम्भावित तेस्रो लहर : प्रदेश र केन्द्रमा गरी अतिरिक्त ९ हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन
काठमाडौँ, ११ साउन । कोरोनाको सभ्भावित तेस्रो लहरलाई ध्यान दिदैं सरकारले अतिरिक्त रुपमा भरिएका ९ हजार अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न संघ तथा प्रदेशलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज स्वास्थ्य सेवा विभाग तथा सातवटै प्रदेशलाई पत्र पठाउँदै विभागमा २ हजार वटा र प्रदेशमा कम्तीमा १ हजार वटा अक्सिजन सिलिण्डर अतिरिक्त रुपमा राख्न निर्देशन दिएको हो ।
कोरोनाको दोस्रो लहरको सुरुवाती समयमा अक्सिजन व्यवस्थापन नहुँदा थुप्रै संक्रमितको ज्यान गएको थियो । यसपटक त्यस्तो नहोस भन्नका लागि अहिले देखिनै आकस्मिक प्रयोग गर्न अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिएको हो ।
मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले तेस्रो लहर आइहाले पनि अघिल्लो पटक जस्तो अवस्था नहोस भनेर अहिले नै अतिरिक्त संख्यामा सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको बताए ।
‘अहिले हामीले संघ र प्रदेशमा क्रमश २ हजार र १ हजारका दरले एक्ट्रा अक्सिजन सिलिण्डर राख्न भनेका छौँ । ति सिलिण्डर भरिएका हुनुपर्छ भनेका छौँ । त्यसबाहेक अक्सिजन प्लान्टहरु चुस्त बनाउन, अक्सिजन कलेक्सन गरेर राख्ने, प्लान्ट र लिक्विड टंयाक बिग्रिएको छ भने बनाउने, जडान बाँकी भए गरि हाल्ने । लगायतका निर्देशन समेत दिएका छौँ,’ डा उपाध्यायले भने ।
मन्त्रालयले अहिलेको अवस्थामा सुधार नआए आगामी पाँच महिनामा एक लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने प्रक्षेपण गरेको छ । नयाँ थपिने संक्रमितमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नु पर्ने र ती मध्ये ९ हजार ७ सय ९३ लाई सघन उपचार गर्नुपर्ने प्रक्षेपण मन्त्रालयको छ ।
सम्पर्क इमेल : [email protected]