युनिफाईड केन्द्रीय अस्पतालको निरीक्षण गर्दै स्वास्थ्य मन्त्री श्रेष्ठले भने, ‘सम्भावित तेस्रो वेभको तयारीमा जुटनुस्’

काठमाडौँ, २६ असार । स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड -१९ को सम्भावित तेस्रो वेभको तयारीमा जुटन कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पतालका अधिकारीहरुलाई निर्देशन दिएका छन् । शनिबार केन्द्रीय अस्पतालको निरीक्षण गर्ने क्रममा सो निर्देशन दिएका हुन् ।

युनिफाइड केन्द्रीय अस्पतालको नव निर्मित सर्जिकल ब्लकको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ( भोलि) उदघाटन गर्दै छन् । प्रधानमन्त्रीले उद्घाटन गर्ने ब्लकको अवलोकन तथा तयारी अवस्था बुझ्न मन्त्री श्रेष्ठ शनिबार केन्द्रीय अस्पताल पुगेका हुन् ।

उनलाई स्वास्थ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतम सहितको टोलीले पछिल्लो तयारी अवस्थाबारेमा जानकारी गराएका थिए । उनले अस्पतालको आइसीयू, अक्सिजन प्लान्ट लगायतका नवनिर्मित संरचनाको निरीक्षण गरेका थिए ।

‘विज्ञहरुले कोभिड-१९ को तेस्रो वेभ पनि आउन सक्छ भनिरहेका छन् । त्यसैले हामी पूर्व तयारीमा लाग्नु जरुरी छ । जस्तो अवस्था आएपनि नियन्त्रणमा लिन सक्ने गरी तयारी थाल्नुहोस्,’ मन्त्री श्रेष्ठले निर्देशन दिदै भने ।

सो अवसरमा स्वास्थ्य सचिव अर्यालले मन्त्रालयले युनिफाइड अस्पताललाई आवश्यक पर्ने सबै सहयोग गर्ने जानकारी गराएका थिए । उनले सम्भावित तेस्रो वेभलाई मध्यनगर गरी सबै तयारी थालेको बताए ।

कार्यकारी अधिकारी डा. गौतमले थपिएको संरचना संगै कर्मचारी दरबन्दी समेत थपिएको भन्दै अब काम गर्न सहज हुने बताए ।

‘लक्षित वर्गका सबै नेपालीले केही महिनाभित्रै खोप पाउनेछन्’

यसैबीच मन्त्री श्रेष्ठले अबको केही महिनापछि लक्षित वर्गका सबै नेपालीलाई खोप उपलब्ध गराउने जानकारी दिए । उनले अव विदेश जाने तयारी गरिरहेका श्रमिक, शिक्षक, सबै मन्त्रालयका कर्मचारी, यातायात मदजुर, फ्रन्टलाईनमा खटिने लगायतलाई उच्च प्राथमिकतामा राखेर खोप उपलब्ध गराउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *