विदेशमा इन्टर्नसिप शुरु गरि पुरा नगरेका चिकित्सा विधाका विद्यार्थीलाई स्वदेशमै पुरा गर्ने अवसर

काठमाडौँ, २३ असार । चिकित्सा शिक्षा आयोगले विदेशमा अध्ययन् गरेका चिकित्सा विधाका विद्यार्थीलाई यसपटक स्वदेशमै इन्टर्नसिपको व्यवस्था गर्ने भएको छ ।

आयोगले इन्टर्नसिप शुरु भईसकेको अवस्थामा कोभिडको कारणले नेपाल फर्किएको र त्यसलाई पुरा गर्नका लागि पुन विदेश जान नसकेका विद्यार्थीलाई एक पटकका लागि मात्रै स्वदेशमै इन्टर्नसिप पुरा गर्ने व्यवस्था मिलाएको हो ।

यसअघि नेपाल मेडिकल काउन्सिलले सन् २००८ को व्याच देखि नै विदेशमा अध्ययनका लागि जाने विद्यार्थीले इन्टर्नशीप पनि उतै सकेर आउनुपर्ने व्यवस्था गरेको थियो ।

गतवर्ष कोरोना महामारी सुरु भएपछि चीन, फिलिपिन्स, बंगलादेश लगायतका देशहरुबाट एमबीबीएस तथा बीडीएस अध्ययन पुरा गरी इन्टर्नसिप समेत सुरु गरेका सयौँ विद्यार्थी नेपाल फर्केका थिए । उनीहरुमध्ये थुप्रैले पछि इन्टर्नसिप पुरा गर्न आफू पढेको कलेजमा फर्कन पाएका थिएनन् । कलेजमा फर्किने बातावरण नभएपछि ती नेपाली विद्यार्थीहरुले स्वदेशमै इन्टर्नसिपको अवधि पुरा गर्न पाउनु पर्ने भन्दै सरकारसंग माग राखिरहेका थिए ।

आयोगले आज जारी गरेको सूचनामा विदेशमा चिकित्सा विधाको स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको कोभिड १९ को जटिल परिस्थितिका कारण सम्वन्धित विश्वविद्यालयमा नै इन्टर्नसिपको अवधि पुरा गर्ने अवस्था नभई सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्टर्नसिपको अवधि पुरा गर्न नपाएकाहरुलाई अन्तिम एक पटकका लागि नेपालमा नै बाँकी अवधि पुरा गर्ने व्यवस्था मिलाउने कार्यकारी समितिको १५ असार २०७८ को निर्णय भएको उल्लेख छ । सो निर्णय अनुसार आयोगले उक्त कार्य गर्न इन्टर्नसिप व्यवस्थापन समिति गठन गरेको र उसले २१ असारमा पछिल्लो निर्णय गरेको बताइएको छ ।

आयोगले स्वदेशमै इन्टर्नसिप पुरा गर्न चाहने विद्यार्थीलाई ४ साउन सम्म अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाएको भनेको छ । नेपालमा यस्ता विद्यार्थीको संख्या १५२ भन्दा बढी रहेको बताइएको छ ।

हेर्नुहोस सूचना :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *