को हुन् ? एक लाख धनराशी राष्ट्रिय पुरस्कार प्राप्त गर्ने नर्स सुनिता

पुरस्कार प्राप्त गरेपछि ६ बर्षे छोरासंग तस्बिर खिचाउँदै सुनिता

काठमाडौँ, १५ असार ।  यसबर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्राप्त गरेकी सुनिता सहकारी नेपालगञ्ज स्थित भेरी अस्पतालमा कार्यरत नर्स हुन् । नेपालमा कोभिड १९ को महामारी सुरु भएपछि भेरी अस्पतालले पनि कोभिडमै काम गर्नका लागि भन्दै करारमा केही नर्सहरु नियुक्त गरेको थियो । त्यहिबेलै नियुक्ती लिनेमध्येकी हुन ।

विसं २०७६ चैत १६ गते देखि करार नर्सको रुपमा भेरी अस्पतालको कोभिड वार्डमा कार्यारम्भ गरेकी हुँ । संक्रमित बिरामीको सेवा गर्ने क्रममा म आफै दुईपटक सक्रमित हुन् पुगेँ । उनले अगाडी भनिन्, ‘गतवर्ष पहिलो लहरमा पनि संक्रमित भएकी थिएँ, यसपटक दोस्रो लहर चल्दा पनि संक्रमित हुन पुगें । तर पनि मैले आफ्नो सेवाभावमा कहिल्यै कम्प्रमाइज गरिन, सकेसम्म सेवामै निरन्तरता दिई रहें । अहिले पनि दिई नै रहेकी छु ।’
………………………………………………

विसं २०६५ सालमा गाँउको सरकारी विद्यालयबाट द्धितीय श्रेणीमा उत्तीर्ण भएपछि प्लस टू पढिन र केही बर्षको अन्तरालमा प्लस टू अध्ययन पुरार गरिन । थप अध्ययन्को चाँजोपाँजो नमिल्दै २०६९ सालमा उनको विहे भयो । कक्षा ७ मा पढ्दा ताका ठूलो बुबाको छोरी रुखबाट खसेर ढाड भाच्चिएपछि उपचारका उपचारका लागि सुर्खेत ल्याइएको थियो । त्यतिवेला उनी पनि दिदीलाई साथी दिन सुर्खेत झरेकी थिइन । सेतो ड्रेस लगाएका नर्सले आफ्नो दिदी सहित बिरामीको उपचार गरेको देखेपछि उनलाई त्यसबेला देखि नै नर्स बनि बिरामीको सेवा गर्छु भन्ने मनमा लागेको थियो । उनको रहर विहेपछि श्रीमान्ले पु¥याइदिए । विहे लगत्तै उनले श्रीमान् र परिवारको सहयोगले भेरी नर्सिङ कलेज नेपालगञ्जमा नर्सिङ पढ्न थालिन । २०७२ सालमा स्टाफ नर्स अध्ययन् पुरा गरिन ।

……………………………………………………………

 

नर्सिङ पढेर लोकसेवा दिने र सरकारी अस्पतालमा सेवा गर्ने योजना अनुरुप २०७६ सालमा काठमाडौँ आइन । होस्टलमा बसेर लोकसेवा तयारी गर्दै थिइन । श्रीमान् बिरामी भएको खवर आयो । तत्काल नेपालगञ्ज फर्केर श्रीमान्को स्वास्थ्य परीक्षण गराईन । रक्तक्यान्सर भएको पत्ता लाग्यो । क्यान्सरको उपचार र फलोअपका लागि नेपालगञ्जमै बस्नु पर्ने भयो । थुप्रो पैसा खर्च हुन थाल्यो । त्यसपछि जागिर खोज्न थालिन । ‘चीनमा कोरोना भाइरस देखापरेको र त्यसको केही समय पछि नेपालमा देखा पर्न थालेपछि भेरी अस्पतालले पनि कोभिड वार्डमा काम गर्नका लागि नर्सिङ स्टाफ करारमा माग्यो । मैले त्यसमा आवेदन दिएँ र छनौट भएँ । त्यस बेला देखि कोभिड वार्ड हुँदै कोभिड आइसीयूमा रहेर सेवा गरिरहेकी छु’ उनले भनिन् ।
………………………………………………………………

गत १२ माघको कुरा हो, ‘अस्पतालमा नाइट ड्युटी गरिरहेका बेला विहानको ३ बजे मोवाइल फोनको घण्टी बज्यो । श्रीमानलाई गाह्रो भएर पाटन अस्पताल काठमाडौँमा भर्ना गरिएको परिवारका सदस्यले जानकारी गराए । त्यसपछि साढे ५ बर्षको छोरालाई सानी भदैनीको काखमा छाडेर काठमाडौँ हान्निईन् । करीव २ महिना अस्पतालमा उपचार पनि चल्यो तर उनको जीवनसाथीको जीवन बचाउँन सकिएन । अस्पतालमा करीव २ महिना बसियो बोन म्यारो प्रत्यारोपण गर्न खोजियो । तर सकिएन । श्रीमान्को निधन भयो । निधनपछि पशुपतिमै दाहासंस्कार र काजक्रिया गरेर १४ चैतमा नेपालगञ्ज फर्कें । १६ चैतबाट पुन कोभिड आईसीयूमा गएर काम गर्न थालें ।’ उनले भनिन् ।

………………………………….

‘मैले नर्सिङ पढदै गर्दा एक महिनाको अन्तरमा दाई र दिदी गुमाएकी थिएँ । नर्सिङ सेवा शुरु गरेपछि श्रीमान् गुमाएँ । पीडा माथि पीडा थपिदै जाँदा मन बहलाउन र आफ्नो गुमाउँनु पर्दाको पिडा महसुस गर्न पनि मैले निरन्तर सेवामा तल्लिन रहेकी हुँ,’ सुनिताले अगाडी थप्छिन् ,’  स्रो लहर सुरु भएपछि अवस्था निकै भयावह बन्यो । कोभिड आइसीयूमा काम गर्दा एकै दिन ११ जनाको समेत ज्यान गयो । आँखै अगाडी यसरी संक्रमितको ज्यान गएको देख्दा सम्हाल्नि निकै गाह्रो हुने रहेछ तर पनि आफ्नो दायित्व निर्वाह गर्नुनै पर्दछ । इमान्दार पुर्वक काम गरेकी छु ।

सानो नावालक छोरालाई एक्लै छोडेर अरु बिरामीको सेवा गरिरहँदा कहिलेकाही अमिलो पनि पस्छ कोभिड सकिएपछि जागिर छोडनुपर्ने अवस्था र त्यसपछि फेरी जागिर खोज्दै जाँदा एक आमाको कर्तब्य निभाउन सक्दिनकी भन्ने कुराले सधै झक्झक्याउँछ ’उनले भनिन् ।

………………………………………………..

उत्कृष्ठ सेवा गरेवापत पुरस्कृत भएकी सुनितालाई सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगद सहित सम्मान गरेका थिए । आफू पुरस्कृत भएको दुई दिन अघि थाहा पाएकी सुनिताले छ बर्षे छोरा लिएर काठमाडौँ आएकी थिईन । पुरस्कार पाएपछि उनले आफ्ना दिवंगत श्रीमानको मुक्त कण्ठले प्रशंशा गरिन । ‘विकट कालिकोटको चेली हुँ । सानो उमेरमा विहे भयो । विहेपछि मैले नर्सिङ पढ्न पाउँदिन कि भन्ने खुबै चिन्ता हुन्थ्यो तर श्रीमान्ले चिन्ता दूर गरिदिनुभयो । मलाई स्टाफ नर्स पढाउनु भयो । त्यसैले सेवा गर्ने अवसर पाएँ । र अहिले सम्मानित हुँदैछु । उनले सोमबार आयोजित कार्यक्रममा भनेकी थिईन ।,’उनले आफूले पाएको पुरस्कारको पहिलो हकदार श्रीमान् र देशभरका सबै नर्सहरु भएको समेत बताईन् । पुरस्कारले आफूलाई थप जिम्मेवारबोध बनाएको समेत जानकारी दिईन ।

……………………….

भेरी अस्पतालका मेसु डा प्रकाश थापा सुनिताको कामप्रति प्रफुल्ल छन् । उनी भन्छन्, ‘उनी कोरोनाकै लागि भनेर नियुक्ती पाएकी नर्स हुन् । उनले कोभिड वार्ड तथा आइसीयूमा बसेर जसरी विरामीको सेवा गरेकी छन् । एकदमै उदाहरणीय छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *