काठमाडौँ महानगरद्वारा राष्ट्रिय ट्रमा सेन्टरलाई ८० लाख रुपैयाँको अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण

8
Shares

काठमाडौं, ९ साउन । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाबाट सो परिमाणमा अर्थोपेडिक इम्प्लान्ट दिइएको हो ।

शुक्रबार महानगरपालिकाकी प्रमुख सुनिता डंगोलले, सेन्टरका निर्देशक डा. रुद्र मरासिनीलाई सामान हस्तान्तरण गरेकी छन् ।

दुर्घटना वा अन्य स्वास्थ्य समस्याका कारण हड्डीमा राख्नुपर्ने महँगो ‘इम्प्लान्ट’ सामग्री अभावका कारण विरामीहरु उपचारबाट वञ्चित हुनु पर्ने अवस्था अन्त्य गर्न महानगरपालिकाको स्वास्थ्य विभागले सार्वजनिक खरिद प्रक्रियाबाट सामान खरिद गरेपछि प्राप्त भएका सामान सेन्टरलाई हस्तान्तरण गरेको जनाएको छ ।

उपलब्ध गराइएका सामानहरु ११५ प्रकारका छन् । यी सामानबाट करिब ३ सय जनाले निःशुल्क उपचार प्राप्त गर्न सक्ने अनुमान गरिएको छ ।

सामान हन्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, महानगरपालिकाले सामान मात्र हस्तान्तरण गरेको नभइ अस्पतालको क्षमतासँग सम्बन्धित विपन्न वर्गको निःशुल्क र सहज उपचार गराउने जिम्मेवारी पनि हस्तान्तरण गरिएको बताइन । उनले भनिन्, ‘सामान हामीले किन्न सक्थ्यौँ । किन्यौँ र अस्पताललाई दियौँ । यी सामानबाट महानगरबासी र विपन्न नागरिकको ठुलो समूहमा सेवा पुग्न सकोस् ।’

‘ट्रमा सेन्टरमा आउने अधिकांश विरामी आपतकालीन सेवाका लागि आउनुहुन्छ । यसवेला सानातिना सामान र प्रयत्नहरु पनि जीवन दिने खालका हुन्छन् । यो संवेदनशीलतालाई बुझेर व्यक्तिलाई जीवन प्रदान गर्ने सामान दिएका छौँ । यसबाट लक्षित वर्गमा उपचारको पहुँच वृद्धि हुन सकोस्, भन्ने चाहना राखेका छौँ,’ उनको भनाइ थियो ।

त्यस क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा विवेक आचार्यले, काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा वीर अस्पतालमा थालिएको महिलाहरुको स्तन र पाठेघरको निःशुल्क परीक्षण र प्रारम्भिक उपचार नतिजामूलक रहेको उल्लेख गर्दै ट्रमा सेन्टरमा महानगरपालिकाको सहयोगले आफूलाई सेवाप्रति थप उत्साहित बनाएको उल्लेख गरे ।

सेन्टरका निर्देशक डा. मरासिनीले ‘महानगरपालिकाले प्रदान गरेका सामानबाट प्रदान गरिने सेवाको सामाजिक परीक्षण गराउने भन्दै पछि सार्वजनिक सुनुवाई समेत गर्ने बताए । ‘लक्षित समूहमा पारदर्शी सेवा दिन हामी प्रतिवद्ध छौँ । सँगै, महानगरपालिकाबाट यो सहयोगलाई निरन्तरता दिन अनुरोध पनि गर्दछु ।’

त्यस अवसरमा धारणा राख्दै नेपाल मेडिकल एशोसिएनका अध्यक्ष डा. बद्री रिजालले भने, ‘काठमाडौँ महानगरपालिकाले नागरिकसँग सोझै जोडिने सहयोग गरेको छ । यसबाट धेरै विरामीले पुनर्जीवन पाउनेछन् ।’

महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक कुमार केसीका अनुसार आर्थिक अवस्था कमजोर भएका वा पहिचान नखुलेका (बेवारिसे) उपचारका लागि ट्रमा सेन्टरमा पुगेका विरामीलाई सेन्टरको सामाजिक सुरक्षा एकाईको सिफारिसका आधारमा मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट उपलब्ध गराइनेछ । महानगरवासीका लागि काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले सिफारिस गर्नेछ ।

सम्झौता बमोजिम, महानगरपालिकाले उपलब्ध गराएका स्वास्थ्य सामग्रीहरूको खर्च विवरण र मौज्दातको अवस्था बारे सेन्टरले प्रत्येक चार महिनामा प्रतिवेदन बुझाउनुपर्नेछ ।

सेन्टरमा वार्षिक करिब ७ हजार व्यक्तिको शल्यक्रिया हुने गरेको छ ।

विपन्न वर्गको उपचारका लागि सरकारले प्रति व्यक्ति १ लाख रुपियाँ उपलब्ध गराउने गरेको छ । डा मरासिनीका अनुसार यसले उपचार गर्ने आउनेमध्ये ९० प्रतिशतको उपचारका लागि पुग्छ । १० प्रतिशत विरामीको उपचारका लागि थप स्रोत जुटाउनु पर्ने अवस्था छ । गएको वर्ष लक्षित वर्ग वाहेक करिब २ करोड रुपियाँ बराबरको निःशुल्क उपचार गराइएको उनले बताए ।

एउटा इम्प्लान्ट किन्न प्रकृति अनुसार २ सय रुपियाँदेखि १० लाख रुपियाँ सम्म पर्छ । एक जना व्यक्तिलाई कति वटा इम्प्लान्ट चाहिन्छ भन्ने कुरा चाहिँ चोटपटकको अवस्थाले निर्धारण गर्छ । सेन्टरमा गराइएका उपचार हेर्दा औसतमा २ लाख रुपियाँदेखि २ लाख ५० हजार रुपियाँसम्म खर्च आउने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *