ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेशालिटी अस्पताल साकेतबीच रणनीतिक सहकार्यको घोषणा
काठमाडौं, १० साउन । नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेत बीच रणनीतिक सहकार्यको औपचारिक घोषणा गरिएको छ ।
शनिबार काठमाडौँको र्याडिसन होटलमा आयोजित “कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू” विषयक निरन्तर चिकित्सा शिक्षा (सीएमई) कार्यक्रमको अवसरमा सो घोषणा गरिएको हो ।
ह्याम्स अस्पतालले यस रणनीतिक सहकार्यको मुख्य उद्देश्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्नु तथा उपचारअघि र उपचारपछिको निरन्तर र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु रहेको बताएको छ ।
कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीनतम अभ्यासहरूबारे आफ्ना अनुभव, अनुसन्धान तथा ज्ञान आदानप्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतबाट सहभागी भएका कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभागका अध्यक्ष एवं प्रमुख डा. रजनीश मल्होत्रा तथा थोरेसिक सर्जरी विभागका निर्देशक डा. शैवाल खण्डेलवाललगायत विशिष्ट विशेषज्ञ चिकित्सकहरूको स्वागत गरेका थिए । यस्तै नेपालमा आधुनिक स्वास्थ्य सेवा तथा विशेषगरी मुटुरोग र कार्डियोथोरेसिक शल्यचिकित्साको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका प्राडा. भगवान कोइराला, प्राडा. प्रकाश सायमी, डा. रञ्जन सापकोटा तथा डा. ज्योतिन्द्र शर्मासहित ह्याम्स अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूले नेपालको चिकित्सा क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै प्रशंसा गरेका थिए ।
उनले म्याक्स हेल्थकेयरसँगको यस रणनीतिक सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास लिएको बताए ।
‘सहकार्यमार्फत उपचारपूर्व विशेषज्ञ परामर्शदेखि उपचार समन्वय तथा उपचारपछिको निरन्तर फलो–अप सेवासम्मको संरचित स्वास्थ्य सेवा प्रणाली विकास हुनेछ । हाम्रो लक्ष्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय, सहज, सुरक्षित तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै, यस प्रकारको अन्तर्राष्ट्रिय सहकार्यले दुवै संस्थाका स्वास्थ्यकर्मीबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदानलाई प्रोत्साहन गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउनेछ, जसको प्रत्यक्ष लाभ अन्ततः बिरामीहरूले नै प्राप्त गर्नेछन्’ उनले भने ।
यस रणनीतिक सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीहरूले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, उपचार व्यवस्थापन तथा उपचारपश्चात नेपालमै निरन्तर फलो–अप सेवासहित एकीकृत र समन्वित स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।
ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
