सरकार र डा. गोविन्द केसी पक्षबीचको बार्ता अझै जारी

काठमाडौँ, १० साउन । धनगढीमा अनसनरत डा गोविन्द केसीको मागका विषयमा डा केसी पक्ष र सरकारी बार्ता टोलीबीच मध्यान्न साढे १२ बजेबाट सुरु भएको बार्ता अझै सकिएको छैन ।
सरकारी बार्ता टोलीका सदस्य रहेका स्वास्थ्य सचिव डा विकास देवकोटाले दिउसो देखिको छलफल अहिले पनि जारी रहेको बताए ।
उता डा. गोविन्द केसी पक्षबाट बार्तामा बसेका डा. अमृत जैसीले पनि बार्ता जारी रहेको बताए । ‘हामी अहिले पनि बार्तामै छौँ । छलफल चलि रहेको छ,’ उनले भने ।
तर दुबै टोलीले बार्ता कसरी अघि बढीरहेको छ, सहमति नजिक छ कि छैन भन्ने विषयमा खुलाएको छैन ।
डा. केसीका मागका विषयमा बार्ता गर्न सरकारको तर्फबाट प्रधानमन्त्रीका विज्ञ सल्लाहकार प्राडा जगदीश अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेल गएका छन् ।
डा. केसीका तर्फबाट डा अमृत जैसीहरुको टोली रहेको छ ।
बार्ता सुरु हुँदै गर्दा खिचिएको तस्विरमा रास्वपा नेता एवं सांसद पुकार बम पनि देखिएका थिए । सांसद बम डा डा. केसीको तर्फबाट छलफलमा भाग लिन पुगेको बताइएको छ ।
डा. केसीले पाँचवटा विभिन्न माग अघि सारे पनि अहिले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको नियुक्तीको विषय चर्चामा रहेको छ ।
डा. केसीले उनीहरुको नियुक्ती बदर गर्न भनेका छन् ।
तर सरकारले खुल्ला प्रतिस्पर्धाबाट प्रक्रिया पुरयाएर गरेको नियुक्तीलाई बदर गर्न नहुने पक्षमा पनि ठूलो मत प्रकट भइरहेको छ । यस्तो अवस्थामा सरकारलाई निर्णय लिन केही अफ्टेरो हुने देखिएको छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
