गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधु अधिकारी गुरुङ

मधुमाया अधिकारी गुरुङ

काठमाडौं, १२ असार । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङ हुने भएकी छन् । शुक्रबार सत्ता साझेदार दलबीच सहमति जुटेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिने निर्णयमा पुगेका हुन् ।

तत्कालिन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वास मत प्राप्त गर्न नसकेपछि  गण्डकीमा गत २९ जेठमा नेपालीको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । त्यस दिन मुख्य मन्त्री नेपालीले अधिकारीसहित चार जनालाई मन्त्रीमा नियुक्त गरी सपथ खुवाएका थिए । तर उनीहरुलाई जिम्मेवारी भने दिएका थिएनन् ।

‘मेरो मन्त्रालयको विषयमा हिजो टुंगो लाग्यो । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्ने भएँ,’ मन्त्री अधिकारीले टेलिफोनमा भनिन् । उनले आइतबारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न सक्ने बताइन् ।

प्रदेश सभामा अधिकारी लमजुङ क्षेत्र नं १ ख बाट समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । नेकपा माओवादी केन्द्रको पार्टी जिल्ला अध्यक्ष समेत रहेकी छन् । उनी गण्डकी प्रदेशभरिकै एक्ली महिला अध्यक्ष पनि हु्न् ।

जनयुद्धमा श्रीमान आशलाल गुरुङलाई गुमाएकी अधिकारी माओवादी राजनीतिमा सक्रिय महिला नेतृमा गनिन्छिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *