सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेशद्धारा नेपाललाई एक लाख ट्याब्लेट सिटामोल सहयोग

काठमाडौँ, ३ असार । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन् गरेका नेपाली चिकित्सकहरुको संस्था सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश (एसएनडीबी)ले नेपालका लागि एक लाख ट्याव्लेट सिटामोल अनुदान सहयोग गरेको छ ।

नेपाली बजारमा सिटामोलको अभाव भएको खबर आइरहेका बेला एसएनडीबीले वर्ल्ड नेप्लिज स्टुडेन्ट अर्गानाइजेसन ( डव्लुएनएसओ) संगको सहकार्यमा सिटामोल अनुदान सहयोग गरेको हो ।

विहीबार आयोजित कार्यक्रममा एसएनडीबीका प्रतिनिधि डा दीपक यादव र डा आलोक झाले बंगलादेशका लागि नेपाली राजदूत डा बंशीधर मिश्रलाई इन्सेप्टा फर्मास्युटिकल्सले उत्पादन गरेको ५०० एमजीको १ लाख थान सिटामोल हस्तान्तरण गरे । अनुदानको सिटामोल बुझेपछि राजदूत मिश्रले देशलाई संकट परेको बेलामा विदेशमा रहेका चिकित्सक तथा विद्यार्थीहरुको संस्थाबाट यसरी सहयोग हुनु अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले बुझेको औषधिहरु सकेसम्म छिटो नेपाल पठाउने व्यवस्था गर्न लागेको जानकारी दिए ।

राजदूत डा मिश्रले यसअघि पनि बंगलादेशमा अध्ययन्रत विद्यार्थीहरु, विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु समुदायको पहलमा कोभिडबिरुद्ध प्रयोग हुने रेम्डेसिभि औषधि, मास्क, पीपीई, ह्याण्ड स्यानिटाइजर लगायतका बस्तुहरु अनुदानमा उपलव्ध गराएको बताए ।

औषधि हस्तान्तरण गर्ने क्रममा डा यादव र झाले अभावका बेलामा आफ्नो मातृभूमीलाई औषधि हस्तान्तरण गर्न पाउँदा खुशी लागेको भन्दै महामारीका बेला कालोबजारी रोक्न र नेपालीहरुलाई सुलभ रुपमा सिटामोल उपलव्ध होस भन्नका लागि आफूहरुले सहयोग गरेको बताए । डब्लुएनएसओ बंगलादेश च्याप्टरका अध्यक्ष रुपेश महतोले यो कार्यक्रमको सहजीकरण गरेका थिए ।

कोरोना महामारीको बेला बंगलादेश सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपाली समुदायहरुले नियमित रुपमा सहयोग गर्दै आइरहेका छन् । उनीहरुले हवाई तथा स्थलमार्गबाट ठूलो परिमाणमा औषधिहरु पठाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *