तपाईँलाई थाहा छ ? हाइड्रोसिलको शल्यक्रिया नि:शुल्क हुन्छ नि
काठमाडौँ, ३ असार । तपाईँलाई थाहा छ कि छैन ? सरकारले पाँच बर्ष अघि देखि नै हाइड्रोसिल (अण्डकोषमा पानी जम्ने अवस्था) भएका पुरुषहरुको निशुल्क शल्यक्रिया गर्दै आइरहेको छ । हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत सरकारले सन् २०१६ देखि नै हाइड्रोसिल समस्या भएका पुरुषहरुको निशुल्क शल्यक्रिया गर्दै आइरहेको हो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले अहिलेसम्म ९ हजार ५६८ जना हाइड्रोसिल पिडीत पुरुषको निशुल्क शल्यक्रिया गरेको बताएको छ । उसले त्यस्ता समस्या भएका व्यक्तिले तोकिएको सरकारी अस्पतालमा गएर निशुल्क रुपमा शल्यक्रिया लिन सक्ने बताएको छ ।
इडिसिडीका निर्देशक डा कृष्ण पौडेलले हाइड्रोसिललाई हात्तीपाइले रोग निवारण अभियानकै कार्यक्रममा राखेर निशुल्क उपचार सेवा उपलव्ध गराएको बताए । उनले भने, ‘हाइड्रोसिल हुनुको कारण सबै हात्तीपाइले रोग त होइन तर अधिकांश हो । त्यसैले हामीले जुन किसिमले हाइड्रोसिल भएपनि निशुल्क शल्यक्रिया सेवा दिईरहेका छौँ ।’
महाशाखाकै किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख लिलाबिक्रम थापाले निशुल्क शल्यक्रियाका लागि संघीय, प्रतिष्ठान, प्रादेशिक, जिल्ला तथा स्थानीय तहका अस्पतालहरु सूचिकृत गरिएको भन्दै समस्या भएका जो सुकैले त्यहाँ गएर निशुल्क शल्यक्रिया गर्न सक्ने बताए ।
‘महाशाखाले हाइड्रोसिलको निशुल्क शल्यक्रियाका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । एक जना व्यक्तिको शल्यक्रिया गर्दा अस्पताललाई ७ हजार रुपैयाँ सोधभर्ना दिने गरेको छ । यो शल्यक्रिया साधारण मानिन्छ । शल्यक्रिया गरेको व्यक्ति सकेसम्म उहि दिन वा भोलिपल्ट डिस्चार्ज हुन सक्छ,’ थापाले भने । उनले जुनसुकै जिल्लाका व्यक्तिले जुनसुकै स्थानको तोकिएको अस्पतालमा गएर उपचार गराउन पाउने बताए ।
झण्डै चार हजार बर्ष पुरानो मानिने हात्तीपाइले रोग क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने विज्ञहरु बताउछन । यो तराईँ र पहाडी जहाँ क्युलेक्स जातको लामखुट्टे हुन्छ त्यस्ता ठाँउमा बढी देखिएको छ ।
लामखुट्टे नै नभएका कारण उच्च हिमाली क्षेत्रमा बसोबास गर्नेहरुमा भने यो रोगको समस्या देखिएको छैन ।
सम्पर्क इमेल : [email protected]