पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले लगाए कोरोना खोप

वीरगञ्ज, ३१ जेठ । पर्सामा लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका छन्।
सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउन गरेको निर्देशनानुसार पर्सामा गत शुक्रबार र शनिबार सञ्चालन गरेको खोप केन्द्रबाट लक्ष्यको ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र खोप लगाएका हुन्।
पर्सामा १२ हजार ३०० नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो। यसका लागि वीरगञ्ज महानगरपालिकालगायत १४ वटै स्थानीय तहको वडास्तरमा १०२ खोप केन्द्र सञ्चालन गरिएको थियो। सो केन्द्रबाट चार हजार ५५४ ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएको जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ।
भेरोसिल खोपले शरीरमा नाकारात्मक प्रभाव पर्नसक्ने गलत हल्ला फैलिएपछि फैलिएपछि जिल्लामा ६३ प्रतिशत लक्षित वर्गले सो खोप लिन नमानेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले बताए। लक्षित वर्गका लागि सङ्घीय सरकारबाट १० हजार ८३० डोज भेरोसिल खोप प्राप्त भएको सो कार्यालयले जनाएको छ। आज पुनः खोप कार्यक्रम सञ्चालन गरिने सो कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार जिराभवानी गाउँपालिकामा १५४, जगरनाथपुर गाउँपालिकामा १६४, छिपहरमाई गाउँपालिकामा ६१, धोबिनी गाउँपालिकामा ४८, पकहामैनपुर गाउँपालिकामा ५७, विन्दवासिनी गाउँपालिकामा १९८, बहुदरमाई गाउँपालिकामा ३३० र ठोरी गाउँपालिकामा २०० ज्येष्ठ नागरिकले सो खोप लिएका छन्। गलत हल्लाको पछि नलागेर लक्षित वर्ग सबैलाई खोप लिन जिल्ला जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




