कोभिडबिरुद्धको खोपका बारेमा साता दश दिनमा ‘ब्रेक थ्रु’ हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, १४ जेठ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिडबिरुद्धको खोपको विषयमा साता दश दिनमा ‘ब्रेक थ्रु’ हुने बताएका छन् । उनले विभिन्न मुलुकसंग खोप खरीद वा अनुदानको विषयमा कुरा भइरहेको भन्दै साता दश दिन भित्र टुंगो लाग्ने स्पष्ट पारेका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार गरेको भरच्युअल अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले खोपको विषय सरकारको पहिलो प्राथमिकतामा रहेको, सोही अनुसार प्रयास भएको र चाडैै नै सकारात्मक नतिजा निस्कने दावी गरे । ‘तपाईँहरुलाई मैले यति भन्छु साता दश दिनमा खोपको विषयमा ब्रेक थ्रु हुन्छ,’ मन्त्री ज्ञवालीले भने ।

उनले भारतबाहेक अरु चारवटा देशका कम्पनीसंग खोपको विषयमा कुटनीतिक रुपमा पहल जारी रहेको सुनाए । उनका अनुसार सरकारले अहिले चीनको भेरोसेल, रुसको स्पुतनिक भी, अमेरिकाको जोन्सन एण्ड जोन्सन र बेलायतको एस्ट्राजेनेकाको विषयमा अघि बढाइएको छ । त्यसमा पनि अझ प्राथमिकता चीन र अमेरिकाको खोपहरु परेको उनले जानकारी दिए । ‘हामीले चीनबाट ५० लाख र अमेरिकाबाट ५० लाख भाइल खोप खरीद गर्ने योजना अघि बढाएका छौँ,’उनले भने ।

मन्त्री ज्ञवालीले कोभ्याक्स सुविधा अन्तरगर्त आउनुपर्ने खोप समयमै आएको भए अहिले यस्तो संकट नहुने भन्दै सरकारले त्यसलाई मात्रै पर्खेर नबस्ने बताए । उनले अहिले खोपकै लागि सरकारले ३६ अर्वको स्रोत सुनिश्चित गरेको भन्दै खरीद प्रक्रियाका लागि पनि छोटो बाटो बनाइएको बताए ।

‘दोस्रो डोज कोभिसिल्ड खोप लगाउनुपर्ने साढे १४ लाख बढी जनसंख्याका लागि भारतसंग पहल गर्नुको साथ हामीले एस्टे«जेनेकासंग पनि पहल गरिरहेका छौँ । एस्ट्राजेनेकाको खोप अमेरिका लगायतका विभिन्न विकसित मुलुकमा त्यसै थन्किएर रहेको छ । हामीले सो खोप ल्याउन पनि पहल गरेका छौँ,’ उनले भने ।

उनले खोप वितरण अत्यन्त असमान हुँदा गरीव राष्ट्रहरुले समयमै खोप लगाउने अवसर नपाएको समेत बताए । मन्त्री ज्ञवालीले भने ‘९५ प्रतिशत खोप १५ देशमा होल्ड भएको छ ५ प्रतिशत खोप अरु १६० देशमा छरिएको छ । यसले गर्दा हाम्रो जस्तो मुलुकलाई समस्या परेको हो ।’

मन्त्री ज्ञवालीले चीनले पछिल्लो पटक घोषणा गरेको १० लाख खोप मध्ये २ लाख आगामी ३० तारिकमा तिव्वत हुँदै नेपाल आउने बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले अभावकै कारण १२ हप्ता भित्र लगाउनुपर्ने कोभिसिल्ड खोपको लगाउने समय घर्किएको बताए । उनले भारतमा खोप अभाव भएकै कारण कोभिसिल्डको दोस्रो मात्रा १२ देखी १६ हप्ता बनाएको भन्दै नेपालमा पनि त्यहि दिशामा जानेकी भन्ने सल्लाह भइरहेको बताए ।

‘कोभिसिल्ड खास लगाउनुपर्ने १२ हप्ता भित्रै हो । तर त्यसपछि खोपको प्रभावकारिता घटन् सक्छ । तर प्रभावकारिता घटे पनि छिटो आयो भने लगाउने कि भन्ने छलफल भएको छ,’ उनले भने ।

उनले कोभ्याक्सले कोभिसिल्ड दिन नसक्ने भन्दै पत्र आएपछि एस्ट्राजेनेकाको अरु खोपका लागि प्रयास गरेको बताए । डा पोखरेलले पहिलो डोज एउटा खोप र दोस्रो डोज अर्को खोप लगाउन नमिल्ने स्पष्ट पारे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले खोपका विषय सरकारले उच्चस्तरीय रुपमा काम गरिरहेको बताए ।
कार्यक्रममा ७० भन्दा बढीको उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *