‘खोप ल्याउन सकियो भने मात्रै कोभिडविरुद्धको लडाई जितिन्छ’

काठमाडौँ, ११ जेठ । प्रधानमन्त्री एवं कोभिड – १९ निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले कोभिड – १९ विरुद्धको लडाई जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपचारमा कुनै किसिमको ढिलाई गर्ने छुट कसैलाई नभएको समेत बताए । उनले यसका जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपहरुका लागि पहल गर्न परराष्ट्र तथा स्वास्थ्य मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिए । ‘खोप ल्याउन सकियो भने कोभिड विरुद्धको लडाई जितिन्छ । अन्यथा लडाई गरिरहनु पर्ने भयो ’, प्रधानमन्त्री ओलीले भने ।

सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र संसाधन सरकारले तत्कालै उपलब्ध गराउने समेत बताए । यसका साथै प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्यांक हासिल गरी उपचार सेवाको अवस्था चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धता बारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने समेत बताए ।

‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन् ?, होम आइसोलेशनमा कति बसेका छन् ? कति जँचाउन आएका छन् ? कति आएका छैनन् ? तिनको अवस्था के छ ? भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग सुुईसम्म कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ‘ , प्रधानमन्त्री ओलीले भने । उपकरण र संशाधनको तत्काल आपूर्तिका लागि केन्द्र र स्वास्थ्य मन्त्रालयको खरिद युनिटबीच समन्वय हुनै पर्ने पनि उनले बताए ।

विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गरे । अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्वीड अक्जिजन सिलिन्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गरे । यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएकोसमेत प्रधानमन्त्रीले बताए ।

यसका साथै प्रधानमन्त्रीले कतिपय स्वास्थ्य संस्थामा आवश्यक नभएको उपकरण र संशाधन रहेको, उपकरण भए पनि सञ्चालन गर्ने दक्ष जनशक्ति नभएको जस्ता समस्या तर्फ पनि ध्यान दिनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *