नेपालमै बन्ने भयो रेम्डेसिभिर औषधि, नेशनल हेल्थ केयरले पायो उत्पादन अनुमति

काठमाडौँ, ५ जेठ । कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको औषधि रेम्डेसिभिर (इन्जेक्सन) अव नेपालमै उत्पादन हुने भएको छ । स्वदेशी उद्योग नेशनल हेल्थ केयरले रेम्डेसिभिर उत्पादन गर्ने भएको हो ।

औषधि व्यवस्था विभागले बुधबार बारामा कारखाना रहेको नेशनल हेल्थ केयरलाई रेम्डेसिभिर औषधि उत्पादनका लागि अनुमति दिएको छ।

विभागका प्रवक्ता समेत रहेका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले ले नेशनल हेल्थकेयरलाई रेम्डेसिभिर औषधि उत्पादन गर्ने लाइसेन्स दिइएको बताए । उनले मार्केटिङ लाईसेन्स भने पछि मात्रै दिइने जानकारी दिए ।

नेशनल हेल्थकेयरका मार्केटिङ भाइस प्रेसिडेन्ट अजय पाण्डेले रेम्डेसिभिर बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ ल्याउने प्रक्रिया अघि बढीसकेको भन्दै त्यो आउनासाथ उत्पादन शुरु गर्ने र बजार पठाई हाल्ने योजना रहेको बताए ।

‘हामीले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया सुरु गरिसकेका छौँ । अंग्रेजी क्यालेन्डर अनुसार यहि अहिलेको ‘मे’ महिना भित्रै आउँछ भन्नेमा हामी आशावादी छौं र ल्याउनका लागि प्रयासरत छौँ । ‘मे’ महिनाको अन्तसम्ममा कच्चा पदार्थ आएमा ‘जुन’ महिनाको दोस्रो सातासम्ममा रेम्डेसिभिर उत्पादन हुन्छ र लगत्तै बजार पठाउने छौँ । कच्चा पदार्थ आउन ढिलाई भयो भने उत्पादन तोकिएको मितिमा एक दुई साता ढिलो पनि हुन सक्छ तर जुन महिना भित्रै बजारमा त आउँछ नै,’ उनले भने ।

नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले कोभिड संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि नेपालमै उत्पादन हुनु आफैमा खुशीको कुरा भएको बताए । उनले भने, ‘यो महामारीमा चाहिएको बेलामा भारतबाट आउन सकेन । धेरै नेपालीले खोजेको बेलामा यो औषधि पाएनन् । अब स्वदेशी कम्पनीले नै उत्पादन गर्न थालेपछि त्यो समस्या हुँदैन । यसले औषधि आत्मनिर्भरताको अभियानलाई थप एक खुड्किलो उकासेको छ ।’

भारतले रेम्डेसिभिर पैठारीमा रोक लगाएपछि नेपालमा बंगलादेशबाट रेम्डेसिभिर ल्याउन थालिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *