विराट मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण

बिराटनगर, ४ जेठ । विराटनगरको बिराट मेडिकल कलेज शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अज्ञात समुहले आक्रमण गरेको छ ।

आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी, हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत, सुरक्षा गार्ड सहितलाई सोमबार राति साढे ८ बजे तिर आक्रमण भएको हो ।

‘चिकित्सकहरु सडक दुर्घटनामा घाइते भएका र स्वासप्रस्वासमा कठिनाई भएका दुई जना गम्भीर बिरामीको उपचारमा हुनुहुन्थ्यो । त्यहि बेलामा हाम्रो बिरामीलाई ढिलो हेर्न किन आएको भन्दै कुटपिट गरी हाले,’ अस्पतालका फोकल पर्सन सुलिन देवले भने ।

उनका अनुसार कुटपिट गर्ने समूहले ल्याएको बिरामीको अवस्था सामान्य थियो । ‘त्यसैले बेडमा बस्दै गर्नुहोस भनेर राखिएको थियो । दुई जना गम्भीर बिरामीको उपचारमा खटिदा पाँच मिनेट ढिलाई भएको थियो होला । उनीहरु एक्कासी आक्रमणमा उत्रिईहाले,’ देवले भने ।

उनका अनुसार आक्रमणगर्नेहरुले ल्याएको बिरामी सामान्य औषधि लिएपछि निको भएर डिस्चार्ज भइसकेकी छन् । गम्भीर अवस्थामा ल्याएका दुई बिरामीमध्ये एक जनाको भने ज्यान गएको छ ।

‘डा चौधरीको मृत्यु कोरोनाले हो भन्ने पुष्टि भएको छैन्’
कोभिड फोकल पर्सन समेत रहेका देवले लहानका अर्थोपेडिक सर्जन डा मुकेश चौधरीको मृत्यु कोरोनाले नै हो भन्ने पुष्टि नभएको बताए । ‘अहिलेसम्म पीसीआरको रिपोर्ट आएको छैन् । उहाँलाई एक्कासी ज्वरो आउने र स्वासप्रश्वासमा गाह्रो भएपछि परिवारका सदस्यहरुले यहाँ ल्याउनु भएको हो । तर अस्पताल ल्याईपुरयाउँदा लगभग मृत्यु भईसकेको थियो । तै पनि इमरजेन्सीमा चिकित्सकहरुले सीपीआर दिएर स्वास फर्काउने गर्नुभयो । तर सफल भएन । चिकित्सकहरुले डा चौधरीलाई सीपीआर दिएकै बेला ढिलो भयो भन्दै अज्ञात समूहले आक्रमण गरेको बताए । इमरजेन्सीमा दुई जना गम्भीर बिरामी भनिएकामध्ये एक जना उनै डाक्टर चौधरी थिए,’ देवले भने ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा-२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो ।  उनले आरोपीलाई पक्राउ गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *