महामारी व्यवस्थापन समेत उदाहरणीय बनेको त्रिशुली अस्पताल, अरु अस्पतालले पनि सिक्ने कि ?

- नेपाली हेल्थ
  • रामप्रसाद न्यौपाने

काठमाडौँ, १ जेठ । अस्पतालका प्रमुख डा. दिपेन्द्र पाण्डेले शनिबार फेसबुकमा एउटा लिंक हाल्दै भने, ‘त्रिशुली अस्पताल नुवाकोटले आइसीयू कोभिड वार्डमा बेड उपलव्ध रहेको वा नरहेको अनलाइन माध्यमबाट थाहा पाउन सकिने व्यवस्था गरेको छ ।’  त्यो लिंक खोलेर हेर्दा आइसीयू, कोभिड व्लक ए, व्लक बी र व्लक सीमा कति बेड छ र त्यसमा कति खाली छ भन्ने सुरुमै देखियो । अलि तल कति बिरामी संक्रमित भए, कति उपचाररत छन्, कति डिस्चार्ज भए र कतिको कोभिड – १९ को संक्रमणबाट ज्यान गयो प्रष्टसंग लेखिएको छ ।

‘यो एउटा साधारण काम हो । अहिले अधिकांशको हातमा मोवाइल छ । इन्टरनेटको पहुँच छ । अनलाइन सिस्टममा विवरण राखिदिएपछि अब बेड खाली छ कि छैन् भनेर सेवाग्राहीले हामीसंग सोधिरहनु पनि परेन, त्यत्ति जानकारी लिन अस्पतालसम्म आइराख्नुपनि परेन । यसले अस्पतालमा भिडभाड पनि कमी हुने भयो । आएर सोधखोज गर्नुपर्ने झन्झट पनि हरायो । र हामीले पनि सेवाग्राहीलाई भनिरहनु परेन,’ डा पाण्डेले नेपाली हेल्थसंग भने ।

हुन पनि अहिले कोभिडका उपचार गर्ने, नगर, जिल्ला, प्रदेश हुँदै संघीय अस्पताल र निजीले आफ्ना नाम अघि राख्ने गरेका नेशनल देखि इन्टरनेशनलसम्मका अस्पतालका प्रमुख र सञ्चालकहरुको अधिकांश फोन बेड छ कि छैन् भन्ने विषयमै आउँछ । त्रिशुली अस्पतालले यसमा आफूलाई एक कदम अघि उभ्याएको छ ।


………………………………………………..

नयाँ भेरियन्ट सहित देखा परेको कोभिडको दोस्रो लहर काठमाडाँै र लुम्विनी प्रदेशमा सुनामी जसरी भित्रियो । अस्पतालहरुमा अक्सिजन चाहिने बिरामीको चाप थेग्नै नसक्ने गरी बढ्यो ।

काठमाडौँ उपत्यका, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानका निजी तथा सरकारी अस्पतालहरमा अक्सिजनको चरम अभाव देखियो । अक्सिजनको अभावले कतिपय बिरामीको ज्यान गयो भन्ने समेत सुनियो । धेरै ठूला अस्पतालहरुले थप भर्ना नलिने सार्वजनिक रुपमा सूचना जारी गर्दै जानकारी गराए ।

 

तर, त्रिशुली अस्पताल यसमा पनि एक कदम अघि बढ्यो । ५० बेडकै जिल्ला अस्पताल भए पनि उसले अत्याधुनिक अक्सिजन प्लान्ट जडान गरेको थियो । अस्पतालका प्रमुख डा पाण्डे भन्छन्, ‘अहिले हाम्रो प्लान्टले १ मिनेटमा ३०० लिटर अक्सिजन दिन्छ । औषत ५० बढी बिरामी भर्ना भएर उपचार लिईरहनु भएको छ । तर सिलिन्डर प्रयोग गर्न परेको छैन ।’

उनले आफूलाई प्रयाप्त भएपछि थप अक्सिजन अन्यत्र पठाउने गरी प्लान्टलाई स्तरबृद्धि गर्न लागेको समेत सुनाए । ५० बेडको जिल्ला अस्पतालले अक्सिजन प्लान्ट जोडदा राजधानीमा अन्तराष्टिय भनेर कहलिएका कतिपय अस्पतालहरु भने सिलिन्डर अभावमा सेवा बन्द गर्न बाध्य भएको बताइरहेका छन् । आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अस्पतालहरुले यस्तो समस्या भोग्नु परेको हो ।

 

………………………………………………….

‘त्रिशुली अस्पतालको ‘ख’ बर्गको एम्बुलेन्स छ । एम्बुलेन्स भित्रै आइसीयू सेटअप भएको । राजधानी र मोफसलका एम्बुलेन्सहरुमा चालकको भरमा मात्रै बिरामी पठाइन्छ । तर ले यो एम्बुलेन्समा एक जना प्यारामेडिक्सको समेत व्यवस्था गरेका छौँ, डा पाण्डेले भने ।

गम्भीर बिरामीलाई अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स स्वास्थ्यकर्मीसहित राखेर रिफर गर्ने जिल्ला अस्पतालको सूचीमा आफुहरु पहिलो भएको हुनसक्ने उनको अनुमान छ ।

सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने सरकारको निर्देशन भएपनि त्रिशुलीमा भने अहिले पनि नन कोभिड सेवा जारी छ ।

‘कोभिडलाई मात्रै हेर्दा ननकोभिडका बिरामीहरु हेर्ने अरु स्तरीय अस्पताल जिल्लामा छैन् । त्यसैले हामी बाध्य छौं । छुट्टै ब्लकमा सो सेवा दिइरहेका छौं । एचडीयूलाई नन कोभिडको लागि आइसीयूमा रुपान्तरण गरेका छौँ,’  डा पाण्डेले भने ।

अस्पतालले पहिलो लहरबाटै कोभिडको पीसीआर परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ । अहिले त्रिशुली चार जिल्लाको संगमस्थल जस्तो भएकोले पनि पीसीआरको लागि ठूलो चाप भएको पाण्डेले सुनाए ।
…………………………………………………
त्रिशुली अस्पतालमा नुवाकोट, रसुवा धादिङ र काठमाडौँ सिमाका गरी चार जिल्लाका बिरामीले सेवा लिन्छन् । अरु बेला दैनिक ३५० बढी ओपिडीमा आउँछन् । अहिले कोभिडको महामारीमा पनि ओपिडी चलेको छ र त्यसमा ७० – ७५ जना दैनिक रुपमा आउँछन् । स्तरीय सेवा दिन कटिवद्ध अस्पतालमा जनशक्तिको भने अभाव नै छ ।

‘स्थायी तहको चिकित्सक म मात्रै हो,’ डा पाण्डेले अगाडी थपे, ‘अरु छात्रबृत्ति र करारका हुनुहुन्छ । तीन जना मेडिकल अधिकृत, ८ जना बिशेषज्ञ, अरु तीन जना समितिले गरी १५ जना चिकित्सक छौँ । तर अहिले भने ८ जना भन्दा बढी कोभिड संक्रमणमा पर्नु भएको छ ।’

उनले अस्पतालमा सबै व्यवस्था भएर पनि जनशक्तिको समस्या भने रहेको जानकारी दिए ।

………………………………………………….
त्रिशुली अस्पताललाई सुधार गर्न जति चिकित्सक तथा स्वास्थ्यकर्मीको हात छ, त्यत्तिकै हात व्यवस्थापनको पनि छ । डा. पाण्डेले आफ्नो अस्पतालमा भएका सुधारका कामहरु भन्दै जाँदा अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेको नाम पटक पटक लिईरहे । उनले भने, ‘हाम्रो अस्पताल यहाँसम्म आइपुग्नुमा महत्वपूर्ण भूमिका अस्पताल विकास समितिका अध्यक्ष ज्यूको छ । हामी त जागिरे पनि भयौँ । खटिनु हाम्रो ड्युटी पनि हो । तर उहाँ त विहान देखि बेलुकासम्म अस्पताल सुधारका लागि निरन्तर खटिईरहनु भएको छ । हामीलाई साथ सहयोग र हौसला त दिइरहनु भएको छ । यसले गर्दा हामीलाई काम गर्न निकै सजिलो भएको हो ।’

उनले अस्पतालको टिम यूवाहरुको भएकाले पनि सुधार छिटो भएको हुनसक्ने बताए ।


Facebook Comment


थप समाचार