ट्रमाका निर्देशक डा. पौडेलले भने ‘अत्यन्तै मर्माहत छु साथीहरू !’

काठमाडौँ, ३० बैशाख । राष्ट्रिय ट्रमा सेन्टरमा पुन: अक्सिजनको समस्या देखिएको छ । अक्सिजन उद्योगले तोकिएको समयमा तोकिएको परिमाण उपलव्ध गराउन नसकेपछि पुन: समस्या देखिएको हो ।

ट्रमाका निर्देशक डा सन्तोष पौडेलले विहीबार अपरान्ह फेसबुकमा लामो स्टाटस लेख्दै अक्सिजनको एकदमै अभाव भएको बताए । उनले अक्सिजन उद्योगले ट्रमामा पठाउन तयार पारेको अक्सिजन प्रहरीका माथिल्ला तहका व्यक्ति आएर लगेको आफूलाई जवाफ दिएको समेत उल्लेख गरेका छन् । आफूले यो कुरा गृह सचिव महेश्वर न्यौपानेलाई समेत जानकारी गराएको डा पौडेलले बताएका छन् ।

‘यहाँ अक्सिजन नपाएर पल पलमा मान्छे मरिरहेको अवस्था छ । यो कुरा प्रहरीका उच्च अधिकारीलाई थाहा नहुने कुरै भएन तर उनीहरुले नै सिलिण्डर लैजानु त भएन नि ?,’ नेपाली हेल्थसंग कुरा गर्दै डा पौडेलले भने ।

उनले पहुँचवाला हुँ भन्नेहरुले जवरजस्ती रुपमा सिलिण्डर नियन्त्रणमा लिएर घरमै लैजाने गरेका कारणपनि उपत्यकामा थप अक्सिजन समस्या बढेको बताए ।

‘बिरामी भएपछि आउनुपर्ने अस्पताल नै हो । तर मान्छेहरुले दुई तीन वटाका दरले सिलिण्डर घरमा लगेको थाहा पाइएको छ । यसो नगरौँ, तपाईँले होल्ड गरेको सिलिन्डरले थुप्रै विरामीको ज्यान बच्छ,’डा पौडेलले भने ।

उनले अघि अपरान्ह फेसबुकका लेखेको स्टाटस जस्ताको तस्तै :

साँझ ५:४९ बजे
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो
‘सर, अक्सिजन सकिनै लाग्यो!’
‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका का दरले ४-४ घण्टामा दिने हैन र!
‘हो सर, तर ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’
मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’
ऊ-सर हजुरहरुलाई राखेको Oxygen Cylinder पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए।
हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!
म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)
म; अब के हुन्छ?
ऊ: हैन सर १० वटा पठइदिहाल्छु।
म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?
ऊ-सर त्यो त म के भनुँ।
नि:शब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!
उता: ….. यस्तै हो .. म बुझ्छु …..!!
पिडा छ हजुर
जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *