सरकारले भन्यो-‘१५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्नु’, निजी अस्पतालले भन्यो – ‘सक्दैनौं’

काठमाडौँ, ३० बैशाख । कोरोनाको उपचारका लागि अक्सिजन अभाव देखिएपछि सरकारले एक सय बेड माथिका सबै अस्पताल (निजी सामुदायिक) लाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ । तर निजी अस्पतालले यो अवधीमा यसरी प्लान्ट जडान गर्न नसक्ने बताएको छ ।

उसले संक्रमितको उपचारका लागि राज्यले नै अक्सिजन उपलव्ध गराउन विशेष पहल गर्नुपर्ने धारणा राखेको छ ।
बुधबार स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीको उपस्थितिमा बसेको आइसीएस कमाण्डको बैठकले अवधी तोकेर १०० बेड माथिका सबै अस्पताललाई अक्सिजन प्लान्ट बनाउन निर्देशन दिएको थियो ।  त्यसबापत उसले राजश्व छुट लगायतका सहुलियत दिने भनेको थियो ।

निजी अस्पताल सञ्चालकहरुको संस्था अफिनले विज्ञप्ती जारी गर्दै सरकारले भनेजसरी प्लान्ट जडान गर्न यो बेला सहज नहुने भन्दै बरु सरकार आफै अक्सिजनका लागि व्यवस्थापनमा जुटन सुझाव दिएको छ । ‘प्लान्टका लागि कम्तिमा २ लाख लाग्छ । आजको पहलले यो आएर सेवा लिनका लागि तीन महिना कम्तीमा लाग्छ । त्यसैले अहिले १५ दिनमा जोडनु भन्ने कुरा व्यवहारिक र युक्तिसंगत कुरा होइन,’ अफिनका महासचिव डा हेमराज दाहालले भने ।

अफिनले १५ दिनमा असम्वभका कारण यसरी देखाएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिति २०७८/०१/२९ गते कम्तीमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)को गम्भीर ध्यानाकर्षण भएको छ ।

कोभिड–१९ महामारीका कारण देशभरि नै अक्सिजनको अभाव भएको बारेमा हामी सबै अवगत छौँ। र, यो असहज अवस्थाप्रति गम्भीर पनि छौँ। सीमित साधन(स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचारसेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो यस्तो गैर जिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी संचालन भैरहेछ भन्ने स्पष्ट हुन्छ ।

१. स्मरण रहोस्, हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाईसेवा पनि बन्द रहेका छन् । द्रूत ढुवानीको अरू कुनै विकल्प छैन ।

२. अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ ।

३. १०० शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि २ करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्।

यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो भन्ने हामीले ठानेका छौँ।

देशैभरी अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको पनि हामी जानकारी गराउन चाहान्छौं ।

कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामर्थ्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको र आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हामी हरदम तयार रहेको जानकारी पनि गराउन चाहन्छौँ।

एसोसियसन अफ प्राइभेट हेल्थ इंस्टिच्युसन अफ नेपाल (अफिन)

२०७८ वैशाख २९ गते बुधबार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *