कर्णाली प्रदेश सरकारद्वारा दश जिल्ला अस्पताललाई रु १० करोड बजेट विनियोजन


कर्णाली, २०बैशाख । कर्णाली प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा रु एक/एक करोड बजेट प्रदान गर्ने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक स्वास्थ्य उपकरण खरिद, अक्सिजन तथा सिलिण्डर आपूर्ति र उपचार व्यवस्थापन गर्न प्रत्येक जिल्लामा रु एकरएक करोड उपलब्ध गराउने निर्णय गरेको हो।

आर्थिक मामिला तथा योजना मन्त्री बिमला केसीले कोरोना रोकथाम तथा उपचारमा देखिएका समस्या समधान गर्न तत्काल बजेट पठाइने निर्णय गरेको जानकारी दिइन्।

त्यस्तै कर्णाली प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिममा पनि रु एक/एक करोड बजेट पठाइने प्रवक्ता केसीले बताए। उनका अनुसार मेहेकुना अस्पताल सुर्खेत र दैलेख अस्पतालमा रु ५०र५० लाख पठाइनेछ।

दोस्रो लहरको कोरोना महामारीबाट यहाँका नागरिकहरुको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न एकसाता अघि रु एक अर्ब बजेट विकास बजेटबाट रकमान्तर गर्ने कर्णाली प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेको थियो। यसमा रु ५० करोड प्रदेश विपद् कोषमा जम्मा गरेको छ।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध कोषबाट रु ५० लाख जम्मा गर्ने निर्णय गरेको छ। यसैगरी, दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सरकारले पाँच जिल्लामा अक्सिजनसहित १०० बेड तयार गर्नेगरी काम थालेको छ।

सरकारका प्रवक्ता केसीका अनुसार कालीकोट, दैलेख, जाजरकोट, सल्यान र रुकुमपश्चिममा अक्सिजनसहित १०० बेड र अन्य जिल्लामा अक्सिजनसहित ५० बेड तयारी गरिनेछ। प्रदेश अस्पतालमा अक्सिजनसहित ५०० बेडको तयार गर्ने लक्ष्य अनुसार अघि बढेको र तत्काल १०० बेड थप्ने काममा तीव्रता दिईएको प्रदे सरकारले जनाएको छ।

मृतक परिवारलाई रु एकलाख राहत प्रदान गर्ने

प्रदेश सरकारको मन्त्रिपरिष्द बैठकले सामाजिक विकास मन्त्रालय समेतसँग समन्वय गरी आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई कोभिड रोगका कारण मृत्यु भएका मानिसहरुको घर परिवारलाई प्रति मृतक रु एक लाखका दरले प्रदेश विपद् कोषबाट राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *