कोभिडबिरुद्धको चिनियाँ खोप २५ चैत देखि लगाउने तयारी

काठमाडौँ, २२ चैत । सरकारले चीनबाट प्राप्त कोभिडबिरुद्धको खोप भेरोसेल आगामी २५ चैत देखि लगाउने तयारी गरेको छ । यद्धपी यसको औपचारिक निर्णय भने हुन बाँकी छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार आगामी २५ चैत देखि खोप काठमाडौँ उपत्यकाका अस्पताल र प्रदेशस्तरीय अस्पतालमा मात्रै लगाउने गरी योजना बनाइएको छ ।

‘यो खोप कोभिसिल्ड जस्तो स्थानीय तहसम्म लगिदैन् । काठमाडौँका अस्पतालहरुमा र बाहिर प्रदेशस्तरीय अस्पतालहरुमा ५ देखि १५ दिनसम्म दिने योजना बनाइएको छ । काठमाडौँ उपत्यकामा सम्भवत २० वटा खोप केन्द्र हुनेछन् । यो खोप लगाउनका लागि छुट्टै खोप कार्ड बनाईदै छ,’ स्रोतले भन्यो ।

६० बर्ष माथिकालाई दिन नमिल्ने यो खोपका लागि मन्त्रालयले यसअघिनै ४० देखि ५९ बर्ष उमेर समूहका लागि दिईने बताएको थियो । त्यसमा चीन भ्रमणमा जानेहरुलाई समेत प्राथमिकतामा राखिने भनिएको थियो । चीनले यसअघि नै आफूकहाँ आउनेहरुका लागि चिनियाँ खोप लगाउनुपर्ने बताएको थियो ।

चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो । त्यसै दिन काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेष त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी थिइन ।

खोप आएको एक सातासम्म पनि लगाउन सुरसार नभएको भन्दै आम सर्वसाधारणले सरकारप्रति चासो व्यक्त गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *