चिनियाँ खोप ६० बर्ष मुनिको उमेर समूहलाई मात्रै दिन सकिने

काठमाडौँ, १८ चैत । चीन सरकारको सहयोगमा गत सोमबार काठमाडौँ आएको ८ लाख डोज कोभिड -१९ बिरुद्धको खोप कहिले कसले लगाउने भन्ने टुंगो लागिसकेको छैन् । तर यो खोप ६० बर्ष भन्दा कम उमेरकाले मात्रै लगाउन पाउने भने निश्चित भएको छ । खोप उत्पादन गरेको कम्पनीले यो खोप १८ देखि ६० बर्षसम्मका व्यक्तिलाई मात्रै दिन सकिने भनेको छ ।

चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन (भेरोसेल) नामक यो खोप चीन सहित अहिले १४ बढी देशमा प्रयोग भइरहेको बताइएको छ । जहाँ जहाँ प्रयोग भएको छ त्यहाँ १८ देखि ६० बर्ष उमेर समूहकालाई मात्रै दिइएको छ ।

खोप विज्ञ डा श्याम राज उप्रेतीले नेपालमा आएको ८ लाख डोज खोप ६० बर्ष मुनिकालाई मात्रै दिइने बताउँछन् । ‘हामीकहाँ निर्णय त भइसकेको छैन् तर कम्पनीले खोप बनाउँदा नै ६० बर्ष मुनिकालाई लक्षित गरी बनाएको हो । अनुसन्धान पनि त्यहि उमेर समूहमा भएको छ । अहिले यो खोप जहाँ जहाँ प्रयोग भएको छ त्यहाँ ६० बर्ष मुनिकालाई मात्रै दिइएको छ,’ उनले भने ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतम पनि भेरो सेल ६० बर्ष मुनिकालाई नै दिइने संकेत गर्दछन् । ‘यसबारेमा सरकारले निर्णय गरिहाल्छ । तर यो खोप ६० बर्ष मुनिकालाई लक्षित गरि बनाइएको जानकारी हामीसंग छ,’ उनले भने ।

यसअघि सरकारले उमेर समूह अन्तरगर्त ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोभिसिल्ड दिएको थियो । उमेर समूहमा अब पालो ६० देखि ६४ बर्षसम्मका व्यक्तिलाई दिइने थियो । तर चिनियाँ खोप आएपछि भने अब ५५ देखि ६० बर्षसम्मकाले खोप पाउने सम्भावना बढी देखिएको छ ।

खोपविज्ञ डा उप्रेती भन्छन्, ‘अहिले यो खोप ५५ बर्ष देखि ६० बर्ष उमेर समूहकालाई दिएर पछि कोभिसिल्ड आएपछि ६० देखि ६४ बर्षकालाई दिन पनि सकिन्छ । यसमा सरकारले आवश्यक निर्णय गर्ला ।’

नेपालमा अहिलेसम्म प्रयोग भएको कोभिसिल्ड एक भाइलमा १० डोज थियो । भेरोसेल भने एक भाइलमा १ डोज मात्रै रहेको छ । प्रभावकारिताको हिसावले भने यो ८० प्रतिशत बढी भएको विज्ञहरुले बताएका छन् ।

भेरोसेल पहिलो डोज खोप लाएको दुई देखि चार साता भित्रै दोस्रो डोज लगाउनुपर्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *