चितवन मेडिकल कलेजमा पनि शुरु भयो कलेजो प्रत्यारोपण सेवा

चितवन, १२ चैत । भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) मा कलेजोको सफल प्रत्यारोपण भएको छ । राजधानीबाहिर कलेजो प्रत्यारोपण सेवा शुरु गर्ने सीएमसी पहिलो बनेको छ ।
सीएमसीका अनुसार चितवनस्थित भरतपुर महानगरपालिका -१० स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी ५४ बर्षकी धनकुमारी लामाको गत ८ चैतमा कलेजो प्रत्यारोपण गरिएको हो । धनकुमारीका लागि ३४ बर्षीया छोरी उषा तामाङले कलेजो दान गरेकी थिइन ।
प्रत्यारोपणमा सीएमसीका विशेषज्ञ सर्जनहरु डा सञ्जय यादव, डा एकानन्द सिंह, डा प्रविन जोशी, डा जयन्त कुमार साह, डा अभिषेक भट्टराई सहभागी थिए । यस्तै एनेस्थेसियोलोजिष्ट डा किरण अधिकारी, डा सुरेश गौतम, डा नविन यादव, हेपाटोलोजिष्ट डा सागर पौडेल, डा बरुण श्रेष्ठ, रेडियोलोजिष्ट डा विज्ञान पौडेल, स्टाफ नर्स अञ्जु थापा, स्मृति यादव, सलिना तिवारी, सुभि कार्की, अस्मिता थापा, पुष्पा थापा र बायोालिकल इन्जिनिय प्रकाश खतिवडा सहभागि थिए । शल्यक्रियालाई सघाउन भारतको एपोलो अस्पतालका डा निरज गोयलको टीम समेत आएको थियो । सो टिमले १२ घण्टा लगाएर प्रत्यारोपण सम्पन्न गरेको हो ।
अस्पतालले आज पत्रकार सम्मेलन गरी कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुबैको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताएको छ ।

करीब एक बर्ष अघि काठमाडौँमा कलेजो सम्वन्धी नियमित जाँच गर्दै आएकी धनकुमारीको क्रोनिक लिभर डिजिज रोगको कारण प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको हो ।
अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपण सेवालाई निरन्तरता दिने बताए । ‘हामीलाई कलेजो मात्रै होईन । मिर्गौला प्रत्यारोपणको पनि अनुमति छ । तर मिर्गौला भन्दा जटिल कलेजो प्रत्यारोपण मानिन्छ । त्यसैले हामीले पहिलो प्राथमिकतामा कलेजो प्रत्यारोपणलाई राख्यौं र सेवा सुरु गरयौँ ।’
उनले अन्य संस्थाहरुले प्रत्यारोपणका लागि भनेपनि आफूहरुले औषधि बाहेक अप्रेसन चार्ज १५ लाखमै गर्नसक्ने गरी अघि बढेको जानकारी दिए । ‘हामीसंग दक्ष जनशक्ति र पूर्वाधार छ । बिरामीहरु ठूलो रकम खर्च गर्ने गरी प्रत्यारोपणका लागि विदेश जानु पर्ने छैन् । यहि सम्भव हुनेछ,’ डा न्यौपानेले भने ।

चिकित्सा विज्ञानमा जटिलतम सेवामध्ये मानिने कलेजो प्रत्यारोपणका लागि नेपालमा चारवटा स्वास्थ्य संस्थाले अनुमति पाएका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तरगर्तको अंग प्रत्यारोपण समन्वय समितिले सरकारीस्तरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र निजी क्षेत्रमा सीएमसी संगै पुरानो मेडिकल कलेजलाई पनि अनुमति दिईएको छ ।
नेपालमा पहिलो पटक कलेजेको प्रत्यारोपण विसं २०७३ मंसिर २२ गते भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको थियो । तत्कालिन निर्देशक एवं कलेजो प्रत्यारोपणविज्ञ डा पुकारचन्द्र श्रेष्ठको अगुवाईमा दक्षिणकोरियास्थित सामसंङ अस्पतालका डा डोभिन कोनको नेतृत्वमा आएको चिकित्सकको टोलीले सफल प्रत्यारोपण गरेको थियो । पहिलो पटकको प्रत्यारोपणमा ३८ बर्षका भाइलाई ४२ बर्षकी दिदीले कलेजो दान गरेकी थिईन । अहिलेसम्म त्यहाँ ५ वटा कलेजो प्रत्यारोपण भईसकेको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गतवर्षबाट यो सेवा शुरु भएको छ । त्रिविमा कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीको नेतृत्वमा २०७६ जेठ १७ गते पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । त्रिविमा यो सेवा शुरु गर्दा पनि भारतको अपोलो अस्पतालबाट डा निरभको टोली नेपाल आएको थियो । अहिलेसम्म त्रिविले पनि पाँचौँ केश सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।
सीएमसी कलेजो प्रत्यारोपण सेवा शुरु गर्ने समग्रमा तेस्रो र निजी क्षेत्रमा पहिलो संस्था बनेको छ ।
सम्पर्क इमेल : [email protected]