पूर्वखोलामा नि:शुल्क मुटुरोग स्वास्थ्य शिविर सम्पन्न, ५२५ जनाले लिए सेवा

पाल्पा, २९ फागुन । जिल्लाको पूर्वखोला गाँउपालिका र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबारदेखि चलेको मुटुरोग सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिङ्नेरहस्थित कोभिड-१९ अस्पतालमा दुई दिनसम्म चलेको उक्त शिविरमा ५२५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

काठमाडौँबाट बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको नेतृत्वमा आएको १५ जनाको समूहले पूर्वखोलाका स्थानीयबासीको स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा चिकित्सकहरुले परीक्षणका लागि आएका आम सर्वसाधारणको जनरल चेकअप, ईको, ईसीजी, व्लड सुगर टेष्ट, व्लड प्रेसर टेष्ट सहित निशुल्क औषधि सेवा उपलव्ध गराइएको थियो ।

परीक्षणका लागि स साना बालबालिका देखि ८५ बर्षमाथिका जेष्ठ नागरिकको समेत सहभागिता रहेको थियो ।

शिविरको नेतृत्व गरेका डा रेग्मीले परीक्षणका क्रममा १५० जनाको इको, १७५ जनाको इसीजी गरेको बताए । उनले परीक्षण गरिएकामध्ये ५० प्रतिशत बढीलाई मुटु र मधुमेह सम्वन्धी स्वास्थ्य समस्या देखिएको बताए ।

‘गाँउ नै भएपनि पछिल्लो पटक फेरिएको जीवनशैलीले हुनसक्छ । यहाँ पनि नसर्ने रोगको अवस्था गम्भीर नै देखियो । धेरैलाई उच्चरक्तचाप, कोलेस्टेरोल, डायविटिज लगायतका समस्या रहेछ । अझ हामीले स साना बालबालिकाहरुको धेरै परीक्षण गर्न पाएनौं । फेरिएको जीवनशैली तथा खानपानले गर्दा हुनसक्छ अहिले गाँउमा पनि मुटु, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगको प्रकोप देखिदै गएको छ । पूर्वखोलामा पनि अवस्था त्यस्तै पायौँ । शिविरमा धेरैको मधुमेह र उच्च रक्तचाप पहिलो पटक डिटेक्ट भएको छ,’ डा रेग्मीले भने ।

गाँउपालिका अध्यक्ष नुनबहादुर थापाले गाँउबासीलाई स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन तथा स्थानीय तहमै विशेषज्ञ सेवा उपलव्ध गराई परीक्षण सेवा उपलव्ध गराउन शिविरको आयोजना गरिएको बताए । उनले शिविरमा आएका धेरै जनाले पहिलो पटक आफूमा मुटु सम्वन्धी समस्या भएको थाहा पाएको भन्दै शिविरको महत्व झनै बढेको जानकारी दिए । उनले पूर्वखोला गाँउपालिका स्वास्थ्यमा उदाहणीय कार्य गर्न सधै अग्रसर रहेको भन्दै स्थानीय तहमा उपलव्ध हुन नसक्ने स्वास्थ्य सेवालाई शिविरका माध्यमबाट उपलव्ध गराएको बताए ।

गाँउपालिकाका सूचना अधिकारी तथा शिविर संयोजक मोहन ढकालले उपचार सेवासंगै स्वस्थ खानपान र जीवनशैली कसरी बनाउने भन्ने बारेमा विज्ञ चिकित्सकहरुद्धारा जानकारी हासिल भएको बताए । उनले भविस्यमा पनि विभिन्न संघ संस्थाहरुसंग समन्वय गरी स्वास्थ्य सम्वन्धी शिविरहरु राख्ने जानकारी दिए ।

शिविरमा डा रेग्भी सहित बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज बैद्य, मुटुरोग विशेषज्ञ डा. सत्यनारायण सुवाल, मुटुरोग विशेषज्ञ डा अजय अधिकारी, डा सुदीक्षा भण्डारी सहित स्थानीय अहेव, स्टाफनर्स, अनमी सहितको टोली खटिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *