ॐ अस्पतालमा १०४ बर्षीया महिलाले कोभिडबिरुद्धको खोप लगाइन

काठमाडौँ, २५ फागुन । कोरोनाबिरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन भएको आज तेस्रो दिन १०४ बर्षीया जेष्ठ नागरिकले खोप लिएकी छन् । चावहिलस्थित ॐ अस्पताल खोप केन्द्रमा पुगेर काठमाडौं महानगरपालीका वडा नं. ७ कुमारीगालकी निवासी १०४ बर्षीया मनरुपा चौलागाईले कोभिड १९ बिरुद्धको खोप लगाएकी हुन् ।

छोरा बुहारीका साथमा ॐ अस्पतालस्थित खोपकेन्द्र आएकी उनले कुराकानीका क्रममा १९९० सालको भुँइचालो जाँदा १४ बर्पकी किशोरी रहेको बताउँदै त्यसताकाको राणा कालिन समय र पञ्चायतकालिन समयको नेपाली जनजिवनबारे रोचक तथ्यहरु समेत सुनाइन ।

विहान सबैर उठ्ने र नुहाई धुवाइ गरेर पूजा पाठ भजन कीर्तन गर्ने मनरुपा अहिले पनि चारतल्ले घरमा आफैं उक्लन र ओर्लन सक्छिन् ।

खानाका साकहारी सबै खानेकुरा मनपर्ने र नमीठो लाग्ने कुनैपनि खानेकुरा नरहेको तर दहिदुध र फलफुल औधि मनपर्ने बताउछिन् । थोरै थोरै तर पटक पटक खाइरहने र प्रशस्त पानी पिउने उनको बानी रहेको छ ।

१० सन्तानकी आमा मनरुपालाई कोरोना महामारीका बारेमा पनि राम्रो जानकारी रहेछ । सधैं मास्क लगाएर हिड्ने गरेको र बेलाबेलामा राम्रोसँग हात धुने गरेको बताउँदै उनले बुढाबुढीलाई धेरै अफ्ठ्यारो पार्ने कोरोना रोक्ने खोप लगाउन आएको स्वास्थ्यकर्मीलाई सुनाईन ।

काठमाडौं महानगरपालिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले वडाबासीहरु मध्येकी सबैभन्दा जेष्ठ नागरिक मनरुपालाई भेटेर उहाँलाई स्वागत गर्दै सुस्वास्थ्यको शुभकामना दिनुभयो ।

ॐ अस्पतालस्थित कोभिड बिरुद्धको खोप केन्द्रमा आवश्यक पूर्वाधारसँगै परामशर्ष तथा चिकित्साकर्मीहरुको पर्याप्तताले खोप कार्यक्रम व्यवस्थित रुपमा संचालन भएकोले सहज रुपमा खोप लिन सकिने ब्यवस्था मिलाइएकाले जेष्ट नागरिकहरु अत्यन्त खुशी रहेको अध्यक्ष डंगोलले बताए ।

ॐ अस्पतालका मेडिकल डाइरेक्टर डा . हरिश जोशीले कोभिड १९ बिरुद्धको विश्वव्यापि लडाईं र राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकार र अस्पतालको सहकार्यलाई स्वीकार गरी अत्यन्त उत्साहपूर्वक सहभागि भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

रजिष्ट्रेशन डेस्क देखी परामर्श डेस्क र खोप लगाउने कक्ष तथा अब्जरभेसन कक्ष अत्यन्त बैज्ञानिक ढंगबाट मिलाइएकाले ॐ अस्पतालस्थित खोप केन्द्रमा कम समयमा खोप लगाउन सकिने भएकाले विना शंकोच निर्धक्क भएर खोप लगाउन जेष्ठ नागरिकलाई डा. जोशीको आग्रह छ ।

ॐ अस्पताल खोप केन्द्रमा आइतबार अपरान्ह सम्म १५ सय जना भन्दा बढी ५६ बर्ष माथिका जेष्ठ नागरिकहरुले कोभिड १९ विरुद्धको खोप लगाईसकेको अस्पतालले जनाएको छ ।

अहिले ॐ अस्पतालले ७० बर्ष माथिका सम्पूर्ण जेष्ठ नागरिकहरुको सम्मानमा उहाँहरुको उपचार शुल्कमा १० प्रतिशत छुट समेत प्रदान गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *