टर्किश एयरमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड आउँदै

काठमाडौँ, २३ फागुन । नेपालले कोभ्याक्स फ्यासिलिटी अन्तरगर्त प्राप्त गरेको कोभिडबिरुद्धको खोपको पहिलो खेप आज आउँदै छ । ३ लाख ४८ डोज खोप र त्यसलाई चाहिने सुई बोकेको टर्किश एयरलायन्सको विमान विहान ११ : १५ बजे  त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्नेछ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन कोभिसिल्ड खोप कोभ्याक्सले खरीद गरेर नेपाल पठाउन लागेको हो । खोप भारतबाट टर्किको स्तानवुल हुँदै काठमाडौँ आउन लागेको हो ।

विमानस्थलमा विहान साढे १० बजे स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्य सचिव लक्ष्मण अर्याल लगायतका मन्त्रालयका उच्च अधिकारीहरु पुगेर खोप लिनेछन् । उनीहरुलाई युनिसेफ नेपालका प्रतिनिधिहरुले खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।

कोभ्याक्सले कुल जनसंख्याको २० प्रतिशतलाई निशुल्क खोप उपलव्ध गराउनेछ । त्यस अनुसार नेपालले ६० लाख बढी जनताका लागि कुल १ करोड २० लाख डोज खोप निशुल्क पाउने छ । तर माग अनुसार उत्पादन हुन नसकेकोले विभिन्न चरणमा खोप उपलव्ध गराउने योजनामा कोभ्याक्स लागेको छ ।

‘पहिले २२ लाख ५६ हजार खोप पहिलो लटमा आउने भनिएको थियो । तर सबै तिर बाँढदा त्यो सम्भव भएन त्यसैले आज ३ लाख ४८ हजार डोज खोप आउनेछ । संगसंगै त्यसका लागि चाहिने सुई पनि आउनेछ,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा भीमसिंह तिंकरीले भने ।

कोभिड- १९ को महामारी सुरु भएपछि विभिन्न देशका एजेन्सीहरु खोपको अनुसन्धान तथा निर्माणमा लागेका थिए । खोप बनिसकेपछि त्यसको प्रयोग धनी तथा गरीव देशहरुले समुचित रुपमा पाउन भनेर विश्व स्वास्थ्य संगठन, युनिसेफ, विल एण्ड मिलिन्डागेट्स फाउन्डेशन, विश्व बैंक लगायतका विभिन्न १० वटा संस्थाको सहकार्यमा बनेको गाभी एलायन्सले ‘कोभ्याक्स एसोसिएसन’ निर्माण गरी खोप वितरण गर्न थालेको हो ।

कोभ्याक्सको सुविधाको खोप पाउने दक्षिण एशियाका दुई मुलुकमा नेपाल सहित श्रीलंका परेको छ । श्रीलंकालाई पठाएको २ लाख ६४ हजार डोज खोप आज विहानै कोलम्बो पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *