बीपी स्मृति सामुदायिक अस्पतालको १३ औँ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ, २२ फागुन । बसुन्धरास्थित बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीमा विशेष समारोहकाबीच साधारण सभा सम्पन्न भएको हो ।

समारोहमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति थियो । यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, डा शेखर कोइराला लगायतका कांग्रेस नेताहरुको समेत सहभागिता थियो । उनीहरुले पछिल्लो अवस्थामा देशमा जारी राजनीतिक गतिरोधलाई केन्द्रीत गरी आफ्ना धारणा राखेका थिए । त्यस्तै अस्पतालले आम जनताको स्वास्थ्यमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा केदार नरसिंह केसीले स्वास्थ्य र शिक्षा जनताको नैसर्गिक अधिकार भएपनि राज्यको ध्यान नपुगेको अवस्थामा आम जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्धका लागि महामानव वीपी कोइरालाको नाममा अस्पताल खोलेको बताए । उनले कोभिड महामारीका बेलामा समेत अस्पतालले निर्वाध रुपमा सुरक्षित ढंगले सेवा उपलव्ध गराएको बताए ।

अस्पतालका बरिष्ठ उपाध्यक्ष डा सुधार प्रसाद अधिकारीले १३ बर्षको अवधीमा अस्पताल बामे सर्ने अवस्थामा रहेको भन्दै यसलाई आफ्नै खुट्टामा दह्रोसंग उभिने गरी अघि बढाउन अहिलेको आवश्यकता भएको बताए । उनले अब अस्पताल ब्राण्ड बनाउने तर्फ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा अस्पतालका निर्देशक डा धनबहादुर रानाले अस्पतालको बार्षिक आय व्यय तथा प्रगति प्रतिवेदन पेश गरेका थिए ।
सभाले कोरोना संक्रमणबाट निधन भएका संस्थाका सेयर सदस्य एवं बरिष्ठ इन्जिनियर सरोज देवकोटाको नाममा अस्पतालको डिलक्स रुम नामाकरण गर्ने प्रस्ताव पास गरेको थियो ।

सर्वसुलभ दरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्धेश्यका साथ १३ वर्ष अघि स्थापित उक्त अस्पतालमा अहिले ६३१ जना शेयर सदस्य रहेका छन् ।

नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम एक साता पछि धकेलियो
यसपटक साधारण सभाले नयाँ कार्यसमिति छनौट गर्नुपर्ने थियो । तर आज भने सो कार्यक्रम हुन सकेन । नयाँ कार्यसमितिको नेतृत्वका लागि आकांक्षी धेरै देखिएपछि सहमतिका लागि एक निर्वाचन कार्यक्रम एक साता पछि गर्ने गरी सारियो ।

‘हामीले सहमतिमै नयाँ कार्यसमिति छनौट गर्ने योजना थियो । आज त्यो सम्भव भएन त्यसैले एक साता पछि त्यो कार्यक्रम हुन्छ,’ अध्यक्ष डा केसीले भने ।

यसअघिसम्म तीन बर्ष रहेको नयाँ कार्यसमितिको कार्यकाल यसपटक देखि ४ बर्षको बनाइएको समेत उनले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *