कोभिड–१९ विरुद्धको खोप सबै जनतामा सकेसम्म छिटो पुर्‍याउने प्रयासमा छौँ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ, २२ फागुन ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनतालाई सकेसम्म छिटो पुर्‍याउने प्रयासमा सरकार लागेको बताएका छन् । उनले अनुदान र खरीदबाट प्राप्त खोपको प्राथमिकता निर्धारण गरी खोप लगाउने कार्यलाई तिब्रता दिएको स्पष्ट पारेका छन् ।

आइतबारबाट देशव्यापी रुपमा सञ्चालन हुन लागिरहेको दोस्रो चरणको खोप अभियानबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले ७२ प्रतिशत जनतालाई छिटो खोप पुर्‍याउने विषयमा आफू गम्भीरतापूर्वक लागिरहेको बताए ।

तर उनले निश्चित देशहरुमा खोप उत्पादन हुने र सबैदेशलाई खोप आवश्यक भएकोले त्यसको माग र आपूर्तिको अनुपात नमिलेको जानकारी दिए । उनले भने “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पु¥याउने जटिल छ”, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पु¥याउने प्रयासमा छौँ ।”

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको छ ।

मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप नेपालमा परीक्षणका लागि धेरै प्रयास भए पनि नदिएको स्पष्ट पार्नुभयो । “खोपको परीक्षण नेपाली जनतामाथि गर्ने धेरै प्रयास भएका थिए”, उनले भने, “तर हामीले नेपाली जनतामाथि परीक्षण गर्न दिएनौँ । नेपालीलाई गिनिपिक बनाउन पाइदैन ।” उनले आएको खोप विश्व स्वास्थ्य संगठनले समेत प्रमाणित गरिसकेको खोप भएको भन्दै ढुक्क भएर लगाउन आम सर्वसाधारणलाई आग्रह गरे ।

अहिले नेपालमा अक्सफोर्ड युनिभर्सिटी बेलायत र एस्टाजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादित कोभिसिल्ड नामक खोप नेपालीलाई लगाइदै छ ।

सरकारले भोलिदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ लाख बढी ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।

कोभ्याक्स अन्तरगर्तको ३ लाख ४८ हजार कोभिसिल्ड भोलि आउँदै

यसैबीच स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोभ्याक्स फेसिलिटी अन्तरगर्त प्राप्त हुने निशुल्क खोपको पहिलो खेप भोलि काठमाडौँ आईपुग्ने बताए । उनले पहिलो खेप अन्तरगर्त भोलि तीन लाख ४८ हजार खोप भोलि नेपाल आउने बताए । सरकारले कोभ्याक्स मार्फत कुल जनसंख्याको २० प्रतिशत अर्थात ६० लाख बढी व्यक्तिका लागि दुई डोजका दरले कुल १ करोड २० डोज खोप निशुल्क पाउँदै छ ।

यस्तै सचिव अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताए । उनले भोलिदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए । करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उनले बताए । उनले असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेकोसमेत जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गरे । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।

खोप विज्ञ डा श्यामराज उप्रेतीले नेपालले विश्व स्वास्थ्य संगठनले स्विकृति दिएको खोप लगाएको र यसअघि लगाएको कसैलाई पनि गम्भीर असर नदेखिएको भन्दै खोप पूर्ण रुपमा सुरक्षित रहेको बताए । उनले खोपका विषयमा निश्चिन्त भएर लिन आग्रह गरे ।

विश्वभर अहिलेसम्म कोभिडबिरुद्ध ८१ वटा खोपको विकास गरिएको छ । त्यसमध्ये १२ वटा खोपहरु प्रयोगका लागि अनुमति प्राप्त गरेका छन् । नेपालमा अहिलेसम्म २ प्रकारका खोपहरु नेपालमा प्रयोगका लागि अनुमति प्राप्त गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *