पहिलो चरणमा १.४ प्रतिशत नेपालीले कोभिड-१९ बिरुद्धको खोप पाए

काठमाडौँ, १२ फागुन । गत १४ माघ देखि सुरु भएको कोभिडबिरुद्धको खोप अभियान अन्तरगत सोमबारसम्म कुल जनसंख्याको १.४ प्रतिशतले ‘कोभिसिल्ड’ खोपको पहिलो मात्रा पाएका छन् ।

स्वास्थ्य सेवा विभागले कोभिड -१९ खोप अभियानको पहिलो प्राथमिकताको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएको हो । विभागले अहिले नेपालको कुल जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ जना रहेको र गत सोमबारसम्म ४ लाख २९ हजार ७०५ जनाले खोप पाएको बताएको छ । यो संख्या लक्ष्यको ८५.६५ प्रतिशत रहेको समेत विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहका अनुसार पहिलो प्राथमिकताको पहिलो चरण अन्तरगर्त गत माघ १४ देखि २४ गतेसम्म १८६ खोप केन्द्रबाट १ लाख ८५ हजार ८६५ जनाले खोप पाएका थिए । यो संख्या कुल लक्ष्यको ८५.४ प्रतिशत उपलव्धी थियो । त्यसबेला २६ माघ देखि ३० माघसम्म काठमाडौँमा थप केन्द्रहरु खोलेर पत्रकार कुटनीतिक नियोग र युएन एजेन्सीका कर्मचारीलाई समेत खोप दिने व्यवस्था मिलाएको थियो । थपिएको तीन केन्द्रमा त्यसबेला कुल ३ हजार ४८० जनाले खोप लगाएका थिए ।

यस्तै गत फागुन २ देखि १० गतेसम्म चलेको पहिलो प्राथमिकताको दोस्रो चरणमा थप २ लाख ४० हजार ३६० जनाले खोप पााएका छन् । यसपटक २२२ वटा केन्द्रमा खोप लगाइएको समेत विभागले जानकारी दिएको छ ।

सरकारले आगामी २३ फागुन देखि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने जनाएको छ । त्यसबेला ६० बर्ष माथि उमेर समूहका व्यक्तिले खोप पाउने बताइएको छ । त्यसका लागि खरीद गरेको २० लाख डोज खोप मध्ये १० लाख डोज खोप नेपाल आइसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *