भारतबाट खरीद गरिएको दोस्रो लट ‘कोभिसिल्ड खोप’ एक साता भित्रै आउने

फाइल फोटो

काठमाडौँ, ११ फागुन । भारतको सिरम इन्टिच्युट अफ इन्डियाबाट खरीद गरेको २० लाख डोज कोभिसिल्ड मध्ये बाँकी १० लाख डोज खोप यसै साता भित्र आउने भएको छ । सरकारले एक साता अघि सिरमसंग प्रति डोज ४ डलरका दरले २० लाख डोज कोभिडबिरुद्धको खोप कोभिसिल्ड खरीद गर्ने सम्झौँता गरेको थियो ।

सम्झौँतामा दुई चरणमा गरी १५ दिन भित्र २० लाख डोज खोप नेपाल पठाउने भनिएको थियो । सिरमले सम्झौँता भएको ५ दिनमै पहिलो लटको १० लाख डोज खोप पठाएको थियो ।

खरीद प्रक्रियामा सहभागी सरकारी निकाय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीम सिंह तिंकरीले अवको एक साता भित्रै बाँकी खोप नेपाल आइपुग्ने बताए । उनले भने, ‘हामीले दुई चरणमा गरेर १५ दिन भित्र खोप आउने गरी सम्झौँता गरेका थियौँ । सोही अनुसार अग्रिम भुक्तानी समेत गरेका छौँ । सोही अनुसार सिरमले सम्झौँताको ५ दिनमै १० लाख डोज खोप पठायो । सम्झौँता गरेको आज एक साता भयो । अब बाँकी खोप पनि एक साता भित्रै आउँछ ।’

भारत सरकारको अनुदानमा १० लाख डोज कोभिसिल्ड पाएपछि खोप अभियान सुरु गरेको सरकारले अहिलेसम्म ५ लाख बढी जनतालाई पहिलो चरणको खोप दिएको छ । आगामी २३ फागुन देखि ६० बर्ष माथिको उमेर समूहबाट दोस्रो चरणको खोप अभियान सुरु गर्ने योजनामा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *