रक्तदान कार्यलाई व्यवस्थित गर्न प्रति डोनर ५०० रुपैयाँ दिनेछौँ : मेयर शाक्य

काठमाडौँ, १९ माघ । काठमाडौँ महानगरपालिकाले रक्तदान कार्य व्यवस्थापन गर्ने संस्थालाई प्रति डोनर पाँच सय रुपैयाँको दरले सहयोग गर्ने भएको छ । गत शनिबार ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान)को २३औं साधारण सभा तथा सम्मान कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो जानकारी दिएका हुन् ।

अहिले रक्तदान अभियान सञ्चालन गर्ने संस्थाहरुलाई काठमाडौँमा नेपाल रेडक्रसले प्रति डोनर ५० रुपैयाँका दरले खाजा खर्च उपलव्ध गराउँदै आएको छ ।

पछिल्लो पटक ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाले प्रति डोनर १५० रुपैयाँ उपलव्ध गराउँदै आएका छन् ।
कार्यक्रममा बोल्दै मेयर शाक्यले रक्तदान अत्यन्त पुन्य काम हो भन्दै महानगरपालिका यो काममा सहयोगी बन्न चाहेको बताए । सकेसम्म कसैलाई रगत आवश्यक नहोस तर यदि भएको खण्डमा सहज ढंगले उपलव्ध होस् त्यसका लागि महानगरपालिका हातेमालो गर्न इच्छुक छ ।

कार्यक्रममा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले रक्तदान पून्य र्का हो भन्दै सो कार्यमा सबैले निस्वार्थ भावले लाग्नुपर्ने बताए । सोही अवसरमा उनले व्लोदानलाई २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरे ।

त्यस्तै नेरेसो केन्द्रीय रक्तसंचार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ तरिकाले गुणस्तर रगत पाउनु पर्ने र त्यसको लागि रगत संकलनमा पनि वृद्धि हुनु पर्ने बताउनु हुँदै सेवाको गुणस्तरमा पनि उत्तिकै जोड दिनुपर्ने बताए ।

ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले विगत तीन दशक देखि स्वयंसेवी रक्तदानको क्षेत्रमा निरन्तर रुपमा लागिरहेको संस्थाले विभिन्न चुनौतीको वावजुद पनि यहाँसम्म आइपुगेको बताए । ब्लोदानले गर्दै आइरहेको हरेक कार्य स्वयंसेवी रक्तदान अभियान प्रवद्र्धन हुने खालको रहेको बताए । उनले ब्लोदानले स्वयंसेवी रक्तदानको क्षेत्रमा सरोकारवालाहरुसंग समन्वय गर्दै अगाडि बढ्दै उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई सहजरुपमा रगत उपलब्ध गराउने कार्यमा सक्रिय भएर लागिरहेको जानकारी दिए ।

सोहि अनुसार विश्वभर फैलिएको कोराना महामारीमा नियमित उपचार तथा अन्य आकस्मिकरुपमा रगत आवश्यक पर्ने विरामीहरुको लागि सहजरुपमा व्यवस्थापन गर्नको लागि ब्लोदानको आह्वानमा दुइ चरणमा कोभिड–१९ आकस्मिक रक्तदान कार्यक्रम संचालनमा ल्याएको जानकारी दिए । उनले त्यस अन्तर्गत कोभिड–१९ आकस्मिक रक्तदान कार्यक्रम गरी सहयोग पु¥याउने संघसंस्थाहरुलाई धन्यवाद दिए ।

कार्यक्रममा ब्लोदानका संस्थापक तथा वरिष्ठ सल्लाहकार सूर्यकुमारी श्रेष्ठले ब्लोदान स्थापना गर्नुको उद्देश्यबारे बताउँदै रक्तसंचार सेवाले ब्लोदानसंग समन्वय गरेर अगाडि बढ्नु पर्ने बताए । उनले भृकुटिमण्डपमा हाल बन्दै गरेको केन्द्रीय रक्तसंचार सेवा भवनमा दैनिक कार्य संचालनको लागि ब्लोदानको लागि छुट्टै एउटा कोठाको व्यवस्था गरिनु पर्नेमा जोड दिए ।

सो कार्यक्रममा ब्लोदान अफ दि इयरबाट ब्लोदानका केन्द्रीय सचिव उज्वल के.सी., ब्लोदानका सल्लाहकारको तर्फबाट केन्द्रीय सल्लाहकार ज्ञानुराजा महर्जन तथा रक्तसंचार सेवाको तर्फबाट नेरेसो भक्तपुर रक्तसंचार सेवाबाट प्राविधिक दामोदर मुनंकर्मिलाई स्वयंसेवी रक्तदानको क्षेत्रमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । त्यस्तै ब्लड फण्डमा सहयोग गर्नुहुने चेतना थापा, निर्मला बोगटी, बाबुराजा महर्जन, किशोर वन्त तथा रुकेश रञ्जितलाई मायाको चिनो प्रदान गरिएको थियो ।

त्यस कार्यक्रममा कोभिड–१९ को समयमा ब्लोदानको आह्वानमा दुबै चरणमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरी सहयोग गर्ने संघसंस्थाहरु, ब्लोदानका जिल्ला, नगर समिति तथा क्षेत्रहरुका साथै सो दुबै चरणका कार्यक्रमका संयोजकहरु क्रमशः अनिलरत्न तुलाधर तथा मचाकाजी महर्जन लगायत संयोजन समितिका सबै सदस्यहरुलाई कदर पत्रबाट सम्मानित गरिएको थियो ।

सो सभाको बन्द सत्रमा महासचिव केशब महर्जनले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मचाकाजी महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने विधान शंसोधन मस्यौदा समितिले विधान शंसोधन प्रस्ताव गरेकोमा आवश्यक छलफल पश्चात अनुमोदन सहित पारित भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *