स्वास्थ्य मन्त्री बने हृदयेश त्रिपाठी, भानुभक्त ढकाल पर्यटनमा सरुवा

काठमाडौँ, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद विस्तार संगै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सो अनुसार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हृदयेश त्रिपाठीले पाएका छन् । त्रिपाठी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकालको जिम्मेवारी पर्यटन मन्त्रालय तोकिएको छ ।

त्यसो त मन्त्री ढकालको यो दोस्रो पटक सरुवा हो । शुरुमा कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा रहेका ढकाललाई प्रधानमन्त्री ओलीले गत बर्ष ४ मसिर २०७६ मा स्वास्थ्यमा सारेका थिए । तर उनले स्वास्थ्यमा आएर अपेक्षाकृत काम गर्न सकेनन् । कोरोना महामारीपछिको स्वास्थ्य सामग्री खरीद प्रक्ररणको विवादमा तानिन पुगे ।

नयाँ जिम्मेवारी पाएका त्रिपाठी आइतबारबाट मन्त्रालयमा आउने स्वास्थ्य सचिव लक्ष्मण अर्यालले बताए । उता मन्त्री ढकालका स्वकीय सचिव भुवन खतिवडाले आफूहरु पर्यटन मन्त्रालयमा सरुवा भएको बताए ।

अरु को को थपिए/फेरिए ?

आज पुर्नगठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।

त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

यस्तै यसअघि महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् ।

यसअघि युवा तथा खेलकुदमन्त्री बनेका जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई हटाइएको छ ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *