वीर अस्पतालको नयाँ ‘सर्जिकल भवन’ ५ फागुनमा उद्घाटन हुँदै, ५१० शैय्या थपिँदै

नयाँ बनेको सर्जिकल भवन

काठमाडौँ, २८ मंसिर । वीर अस्पतालको नयाँ सर्जिकल भवन आगामी ५ फागुन देखि सञ्चालनमा आउने भएको छ । जमिन मुनि दुई तला र माथि सात तला रहेको भवन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ फागुनमा उद्घाटन गर्ने र त्यस लगत्तै सञ्चालनमा आउने वीर अस्पताल प्रशासनले जनाएको छ ।

यो भवनको शिलान्यास २५ फागुन २०७४ मा प्रधानमन्त्री ओलीले नै गरेका थिए ।

कुल १७ रोपनी क्षेत्रफलमा बनेको यो भवनमा पहिले ७५० शैय्या रहने बताइएको थियो । सम्झौँताका बेलामा भने ६५० शैय्या रहने भनियो । तर अब सञ्चालनमा आउँदा बिरामीका लागि ५१० शैय्यामा मात्रै हुने भएको छ । भवनको छैटौँ तल्लामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को कार्यालय राखिने भएपछि शैय्या कम हुने भएको हो ।

‘सर्जिकल भवनको झण्डै ८० प्रतिशत काम सकिएको छ । बाँकी काम तिब्र गतिमा भइरहेका छन् । हामीले ५ फागुन देखि त्यस भवनबाट सेवा शुभारम्भ गर्ने मिति तय नै गरिसकेका छौँ । प्रधानमन्त्रीबाट भवन उद्घाटन गराउने योजना छ,’ अस्पतालका निर्देशक डा केदार सेन्चुरीले अगाडी थपे, ‘सम्झौँताको बेलामा ६५० शैय्या नै भनिएको थियो । त्यसबेला न्याम्सको कार्यालय त्यता सार्ने भनिएको थिएन । तर पछि त्यसमा संसोधन भयो, एउटा तल्लामा पुरै न्याम्सको कार्यालय रहने भएपछि शैय्याहरु घटने भएको हो । ‘

त्यसबेला दुई अर्ब ३४ करोड रुपैयाँमा निर्माणको ठेक्का लिएको जेआईइसी तथा शर्मा रसुवा कन्स्ट्रक्सन प्रालिले निर्माणको कामलाई तिव्रता दिएको छ ।

सो ब्लकमा १५ वटा मेजर ओटी कक्ष राखिने छ । २० वटा सर्जिकल आइसियू, ३० ओटा पोष्टअप वार्ड रहनेछ । त्यसबाहेक अरु सिंगल तथा डबल क्याविन तथा जनरल कक्षहरु राखिनेछ । सोही ब्लकमा सिटिस्क्यान, पेटस्क्यान, एमआरआई जस्ता अत्याधुनिक मेसिनहरु राखिनेछ ।

भवनको डिजाइन

वीर अस्पतालमा देखिएको पार्किङ समस्यालाई हल गर्न सो भवनको अण्डरग्राउण्डको दुई तल्लामा करीब डेढ सय कार पार्किङ गर्न मिल्ने व्यवस्था गरिने समेत डा सेन्चुरीले बताए । यस्तै सातौँ तल्लामा अडिटोरियम हल राखिएको छ । तेस्रो तल्लाको एउटा कर्नरमा कर्मर्सियल बैक, तथा फार्मेसी राख्ने समेत बताए ।

सो भवनमा आवश्यक पर्ने उपकरणहरु पुरानोबाट त्यता सार्ने र थप उपकरणहरु खरीद गर्ने योजना रहेको समेत डा सेन्चुरीले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *