स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न आठ जनाको दरखास्त

काठमाडौँ, १२ असोज । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बन्न आठ जनाको दरखास्त परेको छ । कार्यकारी निर्देशकका लागि नाम सिफारिस गर्न मन्त्रालयद्धारा गठित सर्च कमिटि समक्ष आइतबार अपरान्ह ५ बजेसम्म आठ जनाको दरखास्त परेको हो ।

यसअघि रिक्त रहेको सो पदमा खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्नका लागि मन्त्रालयले गत २७ भदौमा १५ दिनको अवधी दिएर दरखास्त आव्हान गरेको थियो । सो अवधी शनिबार नै पुरा भएपनि विदाको दिन परेकोले आइतवार अपरान्ह ५ बजेसम्मका लागि तोकिएको थियो ।
मन्त्रालय स्रोतका अनुसार दरखास्त दिनेहरुमा डा पुष्पमणि खराल, सुकल्याण पराजुली, प्रकाशराज पन्त र डा कृष्णप्रसाद अधिकारी रहेका छन् । यस्तै डा दामोदर बसौला, प्रा गुञ्जबहादुर जिसी, सुदर्शन पौडेल र चुडामणि भण्डारीले पनि दरखास्त दिएका छन् । डा खराल नेपाल चिकित्सक संघको निर्वाचनमा अध्यक्ष पदमा उठेका व्यक्ति हुन् । डा अधिकारी नेपाल मेडिकल काउन्सिलको रजिष्टार हुन् । यस्तै भण्डारी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा कार्यरत छन् ।

लोक सेवा आयोगको अध्यक्षतामा रहेको सर्च कमिटिले अब यी दरखास्तहरुको अध्ययन गरी अन्तिम सूची प्रकाशित गर्ने र त्यसपछि सूचीमा पर्नेहरुले व्यवसायिक कार्ययोजना सहित प्रस्तुतिकरण गर्नुपर्ने छ । त्यसको आधारमा मन्त्रिपरिषद समक्ष तीन जनाको नाम सिफारिस गर्ने र त्यहाँबाट एक जना छनौट हुनेछ ।

यसअघि खुल्ला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक बनेका रमेशकुमार पोखरेलले गत १७ असारमा राजिनामा दिएका थिए ।

अहिले बोर्ड निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी स्वास्थ्य मन्त्रालयका सहसचिव डा राधिका थपलियाले सम्हालेकी छन् ।

 

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *