दुई हजारमा पीसीआर परीक्षण गर्न सक्दैनौँ : निजी प्रयोगशाला सञ्चालक

काठमाडौँ, २९ भदौ । उपत्यकामा पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला सञ्चालकहरुले  सरकारले तोकेको दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न नसक्ने बताएका छन् । उनीहरुले सोमबार दिउसो स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुलाई भेटेरै दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न नसक्ने बताएका हुन् ।

मन्त्रालयले आइतबार सूचना जारी गर्दै निजी तथा सरकारी प्रयोगशालामा आरटी पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय देखि घटाएर अधिकतम दुई हजार रुपैयाँ तोकेको थियो । उसले विश्व बजारमा रिएजेन्ट तथा किटको मूल्य घटेको भन्दै यस्तो निर्णय गरिएको स्पष्ट पारेको थियो ।

कोभिड -१९ को परीक्षण गर्ने उपत्यकामा १३ वटा निजी प्रयोगशाला सञ्चालकहरुले सोमबार स्वास्थ्य सचिव लक्ष्मण अर्याल, प्रमुख विशेषज्ञ डा रोशन पोखरेल र कोभिड -१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) प्रमुख डा गुणराज लोहनीलाई भेटेर नयाँ मूल्यमा सेवा दिन नसक्ने बताएका हुन् ।

‘हामीले गुणस्तरीय सेवा दिने हो । त्यसका लागि गुणस्तरीय र विश्वसनीय रिएजेन्ट किट तथा उपकरणहरु चाहिन्छ । अहिले तोकिएको मूल्यमा ती सामग्रीको प्रयोग हुन सक्दैन् । त्यसैले हामीले सक्दैनौँ भनेका छौँ,’ स्टार अस्पताल कोभिड -१९ प्रयोगशालाका प्रमुख गोविन्द अकेलाले भने । उनले सरकारी तर्फबाट आफूहरुको पक्षमा मौखिक आश्वासन आएपनि लिखित रुपमा नआएको बताए ।

‘हामीले अब पुरानै मूल्यमा परीक्षण गर्ने निस्कर्ष निकालेका छौँ । दुई हजारमा हाम्रो किट पनि आउँदैन्, प्राविधिकहरुको तलव, पीपीई लगायतका अरु खर्चहरु कसरी बेहोर्ने ? त्यसैले स्पष्टसंग सकिदैनौँ भनेका हौँ । कमसल खालको सामग्री ल्याएर कसैले सक्छु भनेको हो भने त फरक कुरा भयो । यसमा राज्य झनै सचेत हुनुपर्छ । किनभने यो महामारीको बेला हो र स्वास्थ्यको कुरा हो,’ उनले भने ।

मन्त्रालयको निर्णयमा लिखित रुपमै १३ वटा प्रयोगशालाले असहमति जनाएको बताइएको छ । तर सो टिममा केएमसी प्रयोगशाला सहभागी नभएको उल्लेख गरिएको छ ।

सोमबार नै निजी रुपमा सञ्चालित कोभिड १९ प्रयोगशाला सञ्चालकहरुले ह्याम्स अस्पतालका निर्देशक डा ज्योतिन्द्र शर्माको संयोजकत्वमा कोभिड – १९ प्रयोगशाला कमिटि गठन गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *