बंगलादेशले उपलब्ध गराएको ५ हजार थान रेमडिसिभिर औषधि स्वदेश ल्याइयो

0
Shares
नेपाली सेनाको स्काई ट्रक भित्र रेमडेसिभिर औषधि । तस्वीर : नारायण न्यौपाने, रासस

काठमाडौँ, २७ भदौ । बंगलादेश सरकारले उपलव्ध गराएको ५ हजार भाइल रेमडिसिभिर औषधि नेपाल भित्रिएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत शनिबार साँझ ती औषधि नेपाल भित्रिएको हो ।

यसअघि ११ भदौमा बंगलादेशको बेक्सिम्को फार्मास्युटिकल्स कम्पनी, नेपाल बंगलादेश बैंक र आइएफआइसी बैंकले संयुक्त रुपमा नेपाललाई उपलव्ध गराएको ५ हजार भाइल रेमडिसिभिर औषधि बंगलादेशका लागि नेपाली राजदूत डा बंशीधर मिश्रलाई हस्तान्तरण गरेको थियो । तर हवाई उडान नहुँदा सहयोगमा पाएको सो औषधि नेपाल ल्याउन समस्या भइरहेको थियो ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले सहायकरथी आशिषनरसिँह राणाका नेतृत्वमा गएको पाँच सदस्यीय टोलीले आज साँझ स्काई ट्रक मार्फत ५ हजार भाइल रेमडेसिभिर औषधि ल्याएको र सो औषधि आइतबार (भोली) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।

रेमडेसिभिर औषधि कोभिड १९ को संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारमा प्रयोग हुने गरेको छ । यो औषधि अहिले पनि नेपाल सहित विश्वभर क्लिनिकल ट्रायलकै रुपमा प्रयोग हुँदै आएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निगरानीमा नेपालमा पनि यसको क्लिनिकल ट्रायल भइरहेको बताइएको छ । क्लिनिकल ट्रायलका लागि औषधि व्यवस्था विभागले भारतीय कम्पनी सिप्ला, हिटेरो र माइलनबाट उत्पादित रेमडिसिभिर आयात गर्न अनुमति दिएको छ ।  ती कम्पनीका स्थानीय आपूर्तिकर्ताले नेपालमा ती औषधि ल्याएर अहिले प्रयोग हुन थालेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *