कोरोना संक्रमणले फेरी उचाई लिन थाल्यो मध्यान्न नहुँदै ५०० नाघ्यो

काठमाडौँ, २७ साउन । विहान ९ बजे थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६१ औँ बार्षिकोत्सवलाई सम्वोधन गर्ने क्रममा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ‘विहानै ४४६ जनामा संक्रमण भएको खबर आइसकेकोको र दिउसो बेलुकासम्म ५ – ६ सय पुग्न सक्ने हो कि ?’ भन्दै अनुमान गरेका थिए । उनको अनुमान जस्तै संक्रमणको संख्या १२ नबज्दै ५०० नाघेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतका अनुसार मध्यान्न १२ बजेसम्म देशका विभिन्न स्थानबाट आएको रिपोर्ट पाँच सय नाघेको छ ।

‘दिउसो, अपरान्ह वा बेलुकासम्म मन्त्री ज्यूले भनेझैँ छ सय पुग्न सक्छ,’ एक कर्मचारीले भने ।

उनका अनुसार आज बागमती प्रदेश, प्रदेश नं २ र प्रदेश नं ५ मा संक्रमण बढी देखिएको छ । त्यसबाहेक अन्य प्रदेशमा पनि संक्रमण उल्लेख्य छ । केही प्रयोगशालाको रिपोर्ट आइनसकेकोले पाँच सयबाट कति बढी हुन्छ भन्ने एकीन गर्न अहिले हतारो हुने ती कर्मचारीले बताए ।

प्रदेश नं २ का स्वास्थ्य प्रमुख विजय झाले आफूलाई अहिलेसम्म नारायणीबाट ७० जना र प्रादेशिक प्रयोगशाला जनकपुरबाट २९ जनामा कोरोना संक्रमण भएको विवरण आएको बताए ।

उनले त्यस क्षेत्रको परीक्षण अन्य प्रदेशका प्रयोगशालामा समेत परीक्षणमा पठाएकोले थप जानकारी चार बजेपछि आउने जानकारी दिए ।

काठमाडौँमा १०० नाघिसक्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको कोरोना अपडेटमा काठमाडौँ उपत्यकामा ४४ जना मात्रै संक्रमणमा परेको उल्लेख गरेका थिए । सोमबार राती र आज विहान आएको रिपोर्टमा संख्या ह्वात्तै बढेको छ ।

इडिसिडी स्रोतका अनुसार उपत्यकामा अहिलेसम्म झण्डै एक सय जना संक्रमित थपिएको विवरण आइसकेको छ ।

लकडाउन खुलेसंगै काठमाडौँ उपत्यकामा देशका विभिन्न भागबाट भित्रिएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । यसले ठूलो जनघनत्व भएको काठमाडौँलाई झन् खतरा पु¥याएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *