सरकारले कोरोनाको उपचार गर्ने स्वास्थ्य संस्थालाई यसरी दिँदैछ अनुदान

काठमाडौँ, १४ असार । सरकारले कोरोनाका उपचार गर्ने स्वास्थ्य संस्थालाई संक्रमितको अवस्था हेरेर अनुदान उपलव्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १५ असारमा जारी गरेको कोभिड -१९ संक्रमणको उपचार वापत अस्पताललाई अनुदान उपलव्ध गराउने सम्वन्धी आदेश २०७७ अनुसार संक्रमितको अवस्था हेरेर अनुदान उपलव्ध गराउने भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अनुदानका लागि संक्रमितको अवस्था पाँच भागमा विभाजन गरि उपलव्ध गराउने योजना अघि सारिएको छ ।

लक्षण नभएको वा सामान्य लक्षण भएका तर घरमै रहेका र स्वास्थ्यकर्मीले त्यहि गएर हेर्दा लाग्ने खर्च प्रतिदिन रु २०० का दरले अनुदान दिने व्यवस्था मिलाएको छ । यो खर्च संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घरमै जाने स्वास्थ्यकर्मीले पाउने हुन् ।

यस्तै लक्षण नभएका वा सामान्य लक्षण भएका आइसोलेसन केन्द्रमा बस्ने बिरामी भएमा सम्वन्धीत संस्थालाई प्रति बिरामी दैनिक रु २००० का दरले उपलव्ध गराउने व्यवस्था छ ।

सामान्य लक्षण भएका ६० बर्ष माथिका जेष्ठ नागरिकहरु, दीर्घ रोगीहरु तथा अन्य स्वास्थ्य समस्या भएकाहरुको हकमा व्यवस्थापन गर्ने अस्पताललाई प्रति बिरामी दैनिक रु ३५०० उपलव्ध गराउने निर्णय भएको छ ।

यस्तै मध्यम जटिल बिरामीहरुको उपचार व्यवस्थापन गर्ने अस्पताललाई प्रति विरामी दैनिक ७००० रुपैयाँ र जटिल तथा क्रिटिकल विरामी व्यवस्थापन गर्ने अस्पतालका लागि प्रतिदिन प्रति बिरामी रु १५ हजार रुपैयाँ दिने व्यवस्था मिलाएको छ ।

प्रवक्ता डा गौतमले परीक्षणको दायरा बढाउन सरकार लागि परेको भन्दै त्यसका लागि चाहिने किट्स तथा रिएजेन्टहरु एक महिनालाई पुग्ने गरी मौज्दात रहेको समेत जानकारी दिए ।

पछिल्लो चौविस घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा २१० जनामा पोजेटिभ केस थपिएको छ । तर चौविस घण्टामै १४६ जना डिस्चार्ज भएका छन् । देशभर एक्टीभ कोरोना पोजेटिभहरुको संख्या ५ हजार ३६० जना रहेको समेत डा गौतमले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *