गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

0
Shares


बनेपा, ३ साउन । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–२ गोकुलेको गर्भवतीको आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ ।

दुई दिनदेखि सुत्केरी व्यथा लागेर अवस्था गम्भीर भएकी १९ वर्षीया सुनिता थोकरको हेलिकप्टरबाट उद्धार गरिएको हो । सुत्केरी व्यथाबाट थलिएका उनको स्थानीय गोकुले स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । हेलिकप्टर उडानका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसँग अनुमति माग गरेअनुसार प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिई हेलिकप्टर प्रयोग गरिएको अध्यक्ष जिम्बाले बताए ।

गोकुले स्वास्थ्य चौकीका इञ्चार्ज प्रवीण कुँवरका अनुसार सुत्केरी व्यथाका कारण साउन २ गते दिउँसो स्वास्थ्य चौकीमा ल्याइएको उनको उच्च रक्तचाप, व्यथा लामो हुनु, अग्रिम रक्तस्राव हुनु र पाठेघरको मुख नखुलिएका कारण तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था भएकाले आज गाउँपालिकाको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो ।

थोकरको प्रसूति गृह थापाथलीमा उपचार भइरहेको अध्यक्ष जिम्बाले बताए । डाँडापारि क्षेत्रमा कच्चीसडक सञ्जाल मात्रै भएको र अहिले बर्सातका कारण बाटो अवरुद्ध भएर सवारीसाधनसमेत चल्न नसकेकाले हेलिकप्टरमार्फत उद्धार गर्नु परेको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *