एपोन भन्छ, ‘हामीले उत्पादन गरेका ह्याण्ड स्यानिटाइर गुणस्तरीय छ’

काठमाडौँ, १ साउन ।  नेपाल औषधि उत्पादक संघले आफूहरुले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजर पूर्ण रुपमा गुणस्तरीय रहेको दावी गरेको छ । राष्ट्रिय औषधि प्रयोगशालाले केही स्वदेशी औषधि कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरको गुणस्तरमा प्रश्न उठाएपछि संघले यस्तो दावी गरेको हो ।

राजधानीमा बिहीबार (आज) गरिएको पत्रकार सम्मेलनमा उद्योगीहरुले एफटीआईआर मेसिनद्धारा ह्याण्ड स्यानिटाइजरको गुणस्तर परीक्षण गरेरै देखाए । सरकारी प्रयोगशालामा फेल भएका ह्याण्ड स्यानिटाइजर समेत सो मेसिनमा हाली परीक्षण गर्दा  पास देखिएको थियो ।

यसैबीच एपोनका महासचिव विप्लव अधिकारीले स्वदेशी औषधि उद्योगबाट उत्पादित ह्याण्ड स्यानिटाइजर पूर्ण रुपमा गुणस्तरीय भएको बताए । उनले दर्ता विनाका गुणस्तरहीन स्यानिटाइजको विक्री वितरणमा रोक लगाइयोस भन्दै आन्दोलनमा उत्रिएका बेला सरकारले योजनावद्ध तरिकाले यस्तो विषय घुसाई मुख्य मुद्धालाई विषयान्तर गर्न खोजेको आरोप लगाए ।

उता राष्ट्रिय औषधि प्रयोगशालाले भने केही स्वदेशी औषधि उद्योगका स्यानिटाइजरको गुणस्तर आवश्यक मापदण्ड अनुसारको नभएको बताएको छ । प्रयोगशालाका प्रमुख शैलेशकुमार झाले स्यानिटाइजरको परीक्षण गर्ने डिस्टिलेसन मेथड अनुसार केही कम्पनीका स्यानिटाइजरमा हुनुपर्ने गुणस्तर नभएको दावी गरे । तर कतिवटा कम्पनीका कतिवटा प्रडक्टमा गुणस्तर देखिएन भन्ने बारेमा भने उनले खुलाउन चाहेनन् ।

पत्रकार सम्मेलनमा एपोनका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले सरकारी प्रयोगशालाको परीक्षण विधि ठिक नभएको बताए । ‘मेसिन त ठिक होला तर विधि नै ठिक भएन् । हामी गुणस्तरमा कहि कतै सम्झौँता गर्दैनौँ । हामीले जीसीएमएस विधिबाट प्रडक्ट तयार पारी गुणस्तरका लागि पठाएका छौँ तर अर्को विधिबाट परीक्षण गरिन्छ र फेल गरिन्छ । यो स्वदेशी प्रडक्टलाई निरुत्साहित गर्ने र विदेशी प्रडक्टलाई प्रोत्साहन गर्ने सरकारी नीति हो,’ उनले भने ।

तर प्रयोगशालाका प्रमुख झाले भने फर्माकोपिया अनुरुप नै आफूहरुले गुणस्तर परीक्षण गर्नुपर्ने भन्दै त्यसविपरित गएर परीक्षण गर्न नमिल्ने बताए ।

यसैबीच एपोनले ह्याण्ड स्यानीटाइजर दर्ता गर्ने अवधी तीन महिना थप्ने सरकारी नीतिविरुद्धको आन्दोलन थप सशक्त बनाउने बताएको छ । एपोनले आत्मनिर्भर भइसकेको स्यानिटाइजरमा थप विदेशी कम्पनीलाई भित्र्याउनका लागि सरकारले चलखेल गरेको आरोप लगाउँदै विरोधलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।

सरकारको नीति विरुद्ध एपोनले गरेको आन्दोलनलाई नेपाल उद्योग बाणिज्यमहासंघ, नेपाल उद्योग परिसंघ, फार्मेसी एसोसिएसन, नेपाल आयुर्बेदिक औषधि उत्पादक संघ ,औषधि थोक व्यवसायी संघ लगायतका संस्थाले समर्थन गरेका छन् । विहीबारको पत्रकार सम्मेलनमा ती संस्थाका प्रमुखहरु उपस्थित भई ऐकेवद्धता जनाएका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *