ह्याण्ड स्यानिटाइजर दर्ता गर्न म्याद थप्ने निर्णयबिरुद्ध औषधि उत्पादक संघको धर्ना

काठमाडौँ, ३० असार ।  सरकारले ह्याण्ड स्यानिटाइजर दर्ताका लागि तीन महिना म्याद थप गरेको विरोधमा नेपाल औषधि उत्पादक संघ (एपोन)ले आज दोस्रो दिन पनि औषधि व्यवस्था विभाग अगाडी धर्ना दिएको छ ।

विहान ११ बजे देखि १ बजेसम्म जारी धर्नामा नेपाल उद्योग बाणिज्य महासंघ, आयुर्वेदिक औषधि उत्पादक संघ, निर्यात व्यवसायिक महासंघ नेपाल, नेपाल जेम्स एण्ड ज्योलरी एसोसिएसन लगायतको ऐकेवद्धता रहेको एपोनले जनाएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले गत २२ असारमा मन्त्रीस्तरीय निर्णय गर्दै नेपालमा विक्री वितरण भइरहेका स्यानिटाइजर दर्ता गर्न तीन महिना समय थप गरेको थियो ।

एपोनको २५ असारमा बसेको आकस्मिक बैठकले सो निर्णय तीन दिन भित्र फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएको थियो । त्यसबेला एपोनले निर्णय फिर्ता लिन प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य मन्त्रीलाई पत्राचार र औषधि व्यवस्था विभागमा आफै उपस्थित भई ज्ञापन पत्र समेत बुझाएको थियो ।

एपोनले मन्त्रालयको म्याद थप गर्ने नीतिले दर्ता विनाका गुणस्तरहिन स्यानिटाइजरलाई थप तीन महिनासम्म बजारमा जाने बाटो खुलेको र यसले जनस्वास्थ्यमा समेत गम्भीर असर पुग्ने भन्दै निर्णय खारेजीको माग गरेको छ ।

एपोनका महासचिव विप्लव अधिकारीले भने, ‘हामीले तीन दिनको म्याद दिएका थियौँ । त्यसमा सुनुवाई भएन । त्यसैले हिजो देखि धर्ना दिन थालेका छौँ । अहिले ४० वटा स्वदेशी औषधि उद्योगले १२० वटा वटा फ्याक्ट्रीबाट स्यानिटाइजर बनाइरहेको छ । हामीसंग लाखौँ लिटर स्टक छ । र गुणस्तरीय पनि छ । स्यानिटाइजरमा आत्मनिर्भर भएको र सरकारले स्वदेशी उद्योगलाई आत्मभिर्नर बन्नका लागि प्रोत्साहन गर्नेछौँ भनेका बेला यस्तो निर्णय आउनुले शंका उव्जाएको छ ।’

महासचिव अधिकारीले स्वदेशी उद्योगले उप्पादन गरेका औषधिलाई प्रमाणिकरण गर्न महिनौँ लाग्ने तर विदेशी उद्योगको निरीक्षण र प्रमाणिकरण हप्ता दिनमै सम्पन्न हुने भन्दै उनले सरकारले स्वदेशी उद्योगको प्रवर्धन गर्दैछौँ भनेर भ्रम छरेको आरोप लगाए । उनले सरकाले स्वदेशी उधोगलाई मात्र भार पर्ने गरी कच्चापदार्थको आयात १२ गुणा सम्म दस्तुर वृद्धि गरेकाले पनि सरकारले आयातलाई नै प्रोत्साहन गरिरहेको स्पष्ट देखिएको बताए ।

एपोनका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले नेपालका औषधि उद्योगले दर्ता भएर अहिले ४ लाख लिटर बढी गुणस्तरीय स्यानिटाइजर उत्पादन गरी स्टक समेत राखेको अवस्थालाई नहेरी विदेशी कम्पनीको चलखेल र अन्य कम्पनीबाट गुणस्तरहीन स्यानीटाइजरलाई बजार छिराउने प्रपन्च रचेको बताए ।

एपोनले सरकारले निर्णय नसच्याए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *