काठमाडौँका चार सहित छ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्न अनुमति

काठमाडौँ, २९ असार । सरकारले काठमाडौँ उपत्यका ४ सहित ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड -१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) टेकुले मापदण्ड पुगेका काठमाडौँ का ४ र बुटवल र नेपालगञ्जका २ गरी कुल ६ वटा निजी प्रयोगशालालाई कोभिड -१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

एनपीएचएलका प्रवक्ता राजेशक्मार गुप्ताका अनुसार काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पतालको प्रयोगशाला, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियर छन् । यस्तै उपत्यका बाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

प्रवक्ता गुप्ताले यी प्रयोगशालामा सरकारले संकलन गरेको नमूनाहरुको परीक्षण हुने र त्यसबापत सरकारले प्रति नमूना ५ हजार ५०० को दरले सोधभर्ना गर्ने बताए । ‘कतिपयमा यी प्रयोगशालामा गएर परीक्षण गर्न सकिने भन्ने बुझाई रहेको पनि पाइयो तर त्यस्तो होइन ती प्रयोगशालाले सरकारी संकलन गरेको नमूना मात्रै परीक्षण गर्न सक्ने हुन्,’ उनले भने ।

गुप्ताले स्वीकृति पाएपनि यी प्रयोगशालामा अहिलेसम्म नमूना पुगि नसकेको जानकारी दिए । ‘अहिले त नमूना कम छ सरकारकै २५ वटा ल्यावमा पुगेको छैन् । तर यदि आवश्यक परेको खण्डमा अब यी निजी क्षेत्रका प्रयोगशालामा पनि परीक्षण हुनेछ । त्यसको लागि स्वीकृति दिइयो,’ उनले भने ।

कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *