भर्ना भएका सात जना बिरामीमा संक्रमण देखिएपछि गंगालालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ, २३ असार । अस्पतालमा भर्ना भएका सात जना विरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र (गंगालाल अस्पताल)ले आकस्मिक बाहेकका सेवा भएको छ । अस्पतालले आज सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ ।

अस्पतालका निर्देशक डा चन्द्रमणी अधिकारीले भर्ना भएका केही बिरामीमा संक्रमण भएकोले स्वास्थ्य सम्वेदनशीलतालाई ध्यानमा राखी आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जानकारी दिए । उनले कति जनामा संक्रमण भएको हो भन्ने बारेमा भने खुलाउन चाहेनन् । ‘मैले स्वास्थ्य मन्त्रालयलाई जानकारी दिएको छु । त्यतैबाट पाउनुहुन्छ । यहाँबाट मैले बोल्दिन्,’ उनले भने ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) स्रोतले सोमबार गंगालाल अस्पतालमा भर्ना भएका ७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

‘थप परीक्षणको रिपोर्ट आएको छैन् । तर सोमबार सात जनामा संक्रमण देखिएको हो,’ स्रोतले भन्यो ।

पछिल्लो समय उपत्यकामा अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीहरुमा संक्रमण बढेको पाइएको छ । सोमबार मात्रै भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत ४ जनामा संक्रमण देखिएको छ ।

सोही दिन ललितपुरको स्टार अस्पतालमा २ जना, मेडिसिटी, अल्का र पाटन अस्पतालमा एक एक जना गरी ४ जना भर्ना भएका बिरामीमा पनि संक्रमण देखिएको थियो ।

यसअघि केएमसी सिनामंगल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतमा पनि भर्ना भएका बिरामी तथा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको थियो ।

पछिल्लो दिनमा उपत्यकामा संक्रमित हुनेको संख्या बढेको छ ।

गंगालालको सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *