स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन शुरु

काठमाडौँ, २२ असार । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा आजदेखि शुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजना भएको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका थिए ।

कोरोना महामारी र जारी लकडाउनका बीचमा शुरु भएको दुई दिने सम्मेलन बैज्ञानिक तथा सहभागीहरुको यसपटक भर्चूअल उपस्थिति रहेको छ । उदघाटन सत्र समेत परिषद्को सभाहलबाट निश्चित व्यक्तिहरुको उपस्थितिमा सम्छिप्त रुपमा सम्पन्न भयो ।

सो सत्र नेपाल टेलिभिजन, परिषदको फेसबुक पेज र जुम सफ्टवेरमा माध्यमबाट आम सर्वसाधारण तथा सरोकारवाल समक्ष पु¥याइएको थियो ।

सम्मेलन उदघाटन पछि बोल्दै मन्त्री ढकालले परिषदले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रहरुको पहिचान गरी प्रथमिकताका आधारमा रहेर ती क्षेत्रहरुमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनिय भूमिका खेलेको बताए ।

 

उनले स्वास्थ्य मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको भन्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालयल सदैव तत्पर रहने आश्वासन दिए ।

उदघाटन सत्रमा स्वास्थ्य राज्यमन्त्री नवराज रावत, परिषदका अध्यक्ष प्राडा अञ्जनीकुमार झा, उपाध्यक्ष डा भोजराज अधिकारी, कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवाली, डव्लुएचओका नेपाल प्रमुख डा जोश भ्यान्डिलियर लगायतले बोलेका थिए ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ८६ वटा जनस्वास्थ्यका विषयमा अनुसन्धान प्रस्तुत गर्ने परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले जानकारी दिए । ती मध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । यसका साथै १० वटा आमन्त्रित प्रस्तुतीकरण समेत रहने छ।

प्रत्येक वर्ष आफनो वार्षिकोत्सवमा सम्मेलन गर्दै आएको परिषदले यसपटक कोरोना महामारीका कारण सम्मेलन भर्चुअल रुपमा गरेको हो । सम्मेलनमा उत्कृष्ट वैज्ञानिकहरुलाई अवार्डद्वारा सम्मानित समेत गरिने छ।

‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरूको सम्बोधन’ भन्ने नारा दिइएको सम्मेलन दुई दिन अर्थात भोलिसम्म चल्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *